काठमाडौं । दक्षिण एसियाली मोटोपना मञ्चले हिजो शनिबार काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन सम्पन्न गरेको छ ।
मोटोपना तथा मेटाबोलिक स्वास्थ्यसँग सम्बन्धित बढ्दो चुनौतीबारे छलफल गर्न आयोजित उक्त सम्मेलनमा विभिन्न देशका विशेषज्ञ, चिकित्सक, अनुसन्धानकर्ता तथा नीति निर्माता सहभागी भएका थिए ।
आयोजकका अनुसार सम्मेलनमा बेलायत, टर्की, दक्षिण कोरिया, यूएई, श्रीलंका, पाकिस्तान, बंगलादेश र भारतलगायत देशबाट ४० जना अन्तर्राष्ट्रिय फ्याकल्टी, १५० विदेशी प्रतिनिधि तथा नेपालभरबाट करिब ४०० राष्ट्रिय प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलनमा मोटोपनाको बढ्दो समस्या र यससँग सम्बन्धित मधुमेह, मुटुरोग, फ्याटी लिभर, हर्मोन असन्तुलनलगायत विभिन्न मेटाबोलिक जटिलताबारे विस्तृत छलफल गरिएको थियो ।
वैज्ञानिक सत्रहरूमा मोटोपना नियन्त्रणका नयाँ औषधि, जीवनशैली व्यवस्थापन, मेटाबोलिक स्वास्थ्यसम्बन्धी अनुसन्धान तथा दक्षिण एसियाली समुदायमा देखिएका विशिष्ट चुनौतीहरूमा केन्द्रित प्रस्तुति र अन्तरक्रिया भएको जनाइएको छ ।
‘युनाइटेड अगेन्स्ट ओबेसिटी’ नारासहित आयोजना गरिएको सम्मेलनले क्षेत्रीय सहकार्य, वैज्ञानिक आदान–प्रदान र नीतिगत संवादलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया