काठमाडौं । पेट्रोलियम पदार्थको अभावका कारण पूर्वी नेपालस्थित निर्माणाधीन काँकडभिट्टा–लौकही सडक आयोजनाको काम सुस्त भएको छ । मध्यपूर्वमा देखिएको तनावका कारण बिटुमिन आपूर्ति प्रभावित हुँदा सडक कालोपत्र गर्ने काम प्रभावित बनेको निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीले जनाएको छ ।
कम्पनीका प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार मुख्य निर्माण सिजनमै बिटुमिन अभाव हुँदा काम अघि बढाउन कठिनाइ भएको छ । “स्टकमा रहेको बिटुमिनले अब १०–१५ दिन मात्र धान्ने अवस्था छ,” उनले बताए ।
वर्षाअघि २२ किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रका लागि बेस तयार पारिए पनि आवश्यक मात्रामा बिटुमिन उपलब्ध नभएकाले काम रोक्ने जोखिम बढेको उनले जानकारी दिए । महँगो मूल्यमा आयात गरिएको बिटुमिन पनि पर्याप्त नहुँदा निर्माण गति प्रभावित भएको उनको भनाइ छ ।
यस्तै, नेपाल आयल निगमले लागू गरेको डिजेल कोटा प्रणालीका कारण आयोजनामा पर्याप्त इन्धन आपूर्ति हुन नसकेको समेत निर्माण पक्षले जनाएको छ । निर्माण कम्पनीले बिटुमिन आयातका लागि खोलेको एलसीसमेत फिर्ता भएको जानकारी आयोजनालाई गराइएको छ ।
काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका प्रमुख सिडिई सुनिलबाबु पन्तका अनुसार पेट्रोलियम पदार्थको संकटसँगै मौसमले पनि निर्माण कार्यलाई चुनौती दिएको छ । उनले अवस्था यथावत् रहेमा एक हप्तादेखि दश दिनभित्र काम ठप्प हुने अवस्था आउन सक्ने बताए ।
पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्म ४५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । करिब १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा आयोजना निर्माण भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया