स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ : महासचिव पोखरेल

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतामा आधारित नयाँ राजनीतिक शक्तिहरूको भविष्य संकटमा पर्ने दाबी गरेका छन् ।

उनले विचार र सिद्धान्तबिनाको एकता दीर्घकालीन रूपमा टिक्न नसक्ने बताउँदै त्यस्ता शक्तिहरूबीच स्वार्थको टकराव सुरु हुनासाथ विग्रह हुने टिप्पणी गरे ।

नयाँ शक्तिहरू रवि–बालेन्द्र बीचको सम्बन्धलाई संकेत गर्दै पोखरेलले विचार नमिल्ने समूहहरूबीच स्वार्थको टकराव बढ्दै जाँदा अन्ततः विभाजन हुने बताए । उनले यस्ता शक्तिहरूले लोकतन्त्रका स्पेस खुम्च्याउने र विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रहार गर्ने प्रयास गरेको आरोप लगाए ।

पोखरेलले एमाले अधिनायकवाद र स्वेच्छाचारी प्रवृत्तिविरुद्ध दृढ रूपमा उभिने दाबी गर्दै संसद्मा पार्टीको संख्या कम भए पनि भूमिका निर्णायक रहने बताए ।

उनले भने, ‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि उनीहरू मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव सुरु हुनासाथ विग्रह आउँछ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।’

त्यसैगरी उनले प्रधानमन्त्रीले संसद्मा पर्याप्त संवाद नगरेको भन्दै आलोचना गर्दै सुरक्षा निकायका कार्यक्रममा लामो समय बोल्ने तर जनताको प्रतिनिधि थलो संसद्मा बोल्न नआउने प्रवृत्तिलाई प्रश्न उठाएका छन् ।

पोखरेलले संसदीय मोर्चालाई पार्टी पुनर्जागरणसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदम विरुद्ध सक्रिय हुन सांसदहरूलाई आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?