काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो ।
निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय रुपैयाँका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ६ रुपैयाँका दरले वृद्धि गरिएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १९ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर दुई सय सात रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर दुई सय ५७ रुपैयाँ कायम गरिएको छ ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । को मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया