बाबुलाई एम्बुलेन्समा राखेर उपचारका लागि जाँदै गर्दा छोराको मृत्यु, चालकको पनि निधन

लोकपथ
700
Shares

काठमाडौं । बिरामी बोकेर जुम्लाबाट नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा एम्बुलेन्स चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै दुर्घटनामा परेको थियो । सो एम्बुलेन्स सडकबाट करिब २५ मिटर तल खसेको जनाइएको छ । 

दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका भीमबहादुर बिरामी ७१ वर्षीय बिरामी बुबा कलबहादुर अधिकारीका छोरा हुन् । कलबहादुरलाई नेपालगन्ज लैजाने क्रममा यो दुर्घटना भएको हो । दुर्घटनामा बाबु कलबहादुर पनि घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ

कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय कलबहादुर अधिकारीलाई नेपालगन्ज लैजाने क्रममा यो दुर्घटना भएको हो ।

दुर्घटनामा हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते छन् । लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ । घाइते दुवै जनाको हाल कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रमुख खत्रीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?