नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस चलाइने, सुरक्षामा नगर प्रहरी खटिने

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

२०८३ साल बैशाख १ गतेदेखि सञ्चालन हुने रात्रिकालीन सेवाअन्तर्गत दुई वटा रुट तय गरिएको छ । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

बस राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन् भने तोकिएको रुटका बस स्टपमा हरेक २० मिनेटको अन्तरमा बस आउने व्यवस्था मिलाइएको छ । 

यस्तै, बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगर प्रहरी खटिने छन् । 

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको एकतर्फी यो रुट १६ किलोमिटरको रहेको छ । 

त्यस्तै, अर्को रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको रहेको छ । पूर्व पश्चिम दिशाको एकतर्फी यो रुटको दूरी २० किलोमिटर रहेको छ । थानकोटबाट चल्ने यो बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने छ । 

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकाले रात्रिकालीन बस चलाउन लागिएको बताइन् । 

उनले सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको र लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको पनि बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?