रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्या उल्लेख्य रूपमा बढाउने तयारी थालेको जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रहेको अन्तर्राष्ट्रिय उडानलाई नियमित र व्यवस्थित बनाउन वायुसेवा कम्पनीहरूसँग समन्वय भइरहेको छ । उनले गर्मीयामको तालिकादेखि नै उडान सङ्ख्या बढाउने लक्ष्य रहेको बताए ।
हाल थाई एयर एसियामार्फत सञ्चालन हुँदै आएको बौद्ध धर्मावलम्बी लक्षित उडानलाई आगामी दिनमा थप विस्तार गर्ने योजना छ । लुम्बिनी–गया जस्ता बौद्ध सर्किट जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा पनि अघि सारिएको छ । यसअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट बिन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजले दोहा–भैरहवा हुँदै अन्य देशमा उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका लागि आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइसकेको छ भने छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने अपेक्षा गरिएको छ ।
उडान विस्तारका लागि नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारीसमेत गरिएको छ । यसले अन्तर्राष्ट्रिय उडानलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसैबिच कुवेत एयरवेजमार्फत कुवेत सिटी–भैरहवा चार्टर उडान सञ्चालन भइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी दिइएको छ । चार्टरसँगै नियमित उडानलाई पनि प्राथमिकतामा राखिने विमानस्थल प्रशासनले जनाएको छ ।
यस पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आवागमन सहज हुने विश्वास गरिएको छ । साथै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आए क्षेत्रीय आर्थिक गतिविधि र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया