काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा उनले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
सांसद लामिछानेले मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप सुरु हुने भन्दै शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने उनले प्रतिवद्धता समेत जनाए । आफ्नो अध्ययनका क्रममा दक्षिण कोरियाको अनुभव सुनाउँदै लामिछानेले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिए ।
सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने उनको भनाइ छ ।
खेलकुदलाई केवल मनोरञ्जनको रूपमा मात्र नहेरी यसलाई वैज्ञानिक पद्धतिबाट अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘मानिसले जन्मिएपछि पहिला खेलकुदका क्रियाकलाप गर्छ, त्यसपछि मात्र औपचारिक शिक्षा लिन्छ । त्यसैले शिक्षापछि खेलकुद होइन, खेलकुदपछि शिक्षा हुनुपर्छ । मैले दक्षिण कोरियाको योङ्गीन विश्वविद्यालयमा पीएचडी गर्दा देखेँ, एउटै विश्वविद्यालयले एशियाली खेलकुदमा २८ वटा पदक जित्दा मेरो देशको नाममा एउटा मात्र पदक थियो । जबसम्म हामी छुट्टै खेलकुद विश्वविद्यालय बनाउन सक्दैनौँ, तबसम्म खेलकुदको विकासले गति लिन सक्दैन ।’
राजनीतिमा होमिएपछि खेलकुद क्षेत्रसँग केही समय ग्याप भएपनि आफ्नो मन सधैँ खेलकुदमै रहेको बताउँदै उनले खेलाडीहरूको प्रदर्शन गर्ने कुरामा राज्यले कुनै कसर बाँकी राख्न नहुने बताए । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग मिलेर आगामी दिनमा खेलकुदको स्तर उकास्न आफू निरन्तर लागिपर्ने उनले विश्वास दिलाए । लामो समय खेलकुद विज्ञ र सहकर्मीको रूपमा काम गरेका लामिछानेले खेलकुद ओझेलमा पर्ने डर सधैँ रहने गरेको भन्दै यस क्षेत्रको उत्थानका लागि सबै खेलकर्मीहरू एकजुट हुनुपर्ने आह्वान समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया