काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतीकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेसागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारेका छन् ।
मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको बताए ।
उनले भने, ‘सबैतिर राजनीतीकरण बन्द गरिनुपर्छ पहिले कुरा । खेलकुद र शिक्षा क्षेत्रमा मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँदा आउँदै गर्दाखेरि पेसागत रूपमा जहाँ जहाँ पनि राजनीतीकरण भएर काम गर्न कठिन भएको छ, त्यो राजनीतीकरणलाई सुरुमा रोक्नुपर्छ । नेपालको खेलकुद क्षेत्र पनि धेरै राजनीतीकरण भएर अहिले बिग्रेको छ । नेपालको समस्या नै जहाँ राजनीति गर्नुपर्ने त्यहाँ राजनीति हुँदैन । जहाँ राजनीति नगर्नुपर्ने त्यहाँ राजनीति भइरहेको छ । अब खेलकुदमा राजनीति होइन खेलकुदमा खेल्ने मान्छेहरू जाने हो राजनीति गर्ने मान्छे जाने होइन । त्यही हिसाबले राष्ट्रिय खेलकुद परिषद् अथवा खेलकुदसँग सम्बन्धित जति पनि अरू निकायहरू छ, त्यो सबैमा चाहिँ त्यो क्षेत्रमा विज्ञता भएको, त्यो क्षेत्रको अनुभव भएका विज्ञहरूलाई हामीले सँगै राखेर अगाडि बढाउनेछौँ । अब हाम्रो एकदमै एउटा एकदमै महत्त्वपूर्ण योजना भनेको खेल क्षेत्रमा भएको राजनीतीकरणलाई रोक्ने हो । एन्फाको विवादलाई पनि अहिले बिग्रेको भनेको राजनीतीकरण धेरै भएर हो । सुरुमा त्यहाँ एन्फा र राजनीतिलाई दुईटालाई छुट्टाउनुपर्छ र त्यही क्षेत्रको विज्ञहरूसँग सहकार्य गरेर हामी अगाडि बढ्छौँ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उनको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्त्वपूर्ण योजना रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया