आज चैते दसैँ पर्व मनाइँदै, के छ यसको महत्व ?

लोकपथ
91
Shares

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ । 

घर–घरमा देवीको पूजाअर्चना भइरहेको छ भने विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

वर्षमा चार नवरात्र पर्ने भए पनि आसाढ र पुस शुक्ल पक्षका नवरात्र कम प्रचलनमा छन् । असोज शुक्ल पक्षको नवरात्र भने बडादसैँका रूपमा व्यापक रूपमा मनाइन्छ, जहाँ घटस्थापना गरेर जमरा राख्ने र दशमीका दिन मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने परम्परा छ ।

चैते दसैँमा भने यस्तो परम्परा धेरै परिवारमा नभए पनि अष्टमी र नवमी विशेष रूपमा मनाइन्छन् । हनुमानढोकाको दसैँघरमा घटस्थापना गरी विधिवत् पूजा तथा अष्टमीका दिन बलि दिने चलन रहेको छ । नवमीलाई भगवान् श्रीरामको जन्मसँग जोडेर रामनवमीका रूपमा पनि मनाइन्छ ।

बडादसैँजस्तै चैते दसैँको मुख्य उद्देश्य पनि सुख, शान्ति र समृद्धिको कामना गर्दै देवीबाट आशीर्वाद लिनु हो । यस अवसरमा परिवारजनबीच जमघट हुने परम्परा पनि कायम छ ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थानलगायत शक्तिपीठमा विशेष पूजा भइरहेको छ । उपत्यका बाहिर मनकामना, पलाञ्चोक भगवती, चण्डेश्वरी, शैलेश्वरीलगायतका शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ ।

चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा–आराधना तथा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?