काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी रूपान्तरणका लागि तीन ओटा प्रमुख विषयमा सुझाव माग गरेका छन् । भट्टराईले सुझाव इमेल र व्हाट्सएपमार्फत पठाउन सबैमा अनुरोध गरेका छन् ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सुझाव माग गरेका हुन् ।
उनले निर्वाचनको नतिजाले पार्टीलाई ठूलो धक्का पुगेको र यसको वस्तुनिष्ठ समीक्षा अनिवार्य भएकोमा जोड दिएका छन् ।
‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जबाफदेहिताको प्रश्न हल हुनेछ,’ उनले लेखेका छन्, ‘यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु ।’
सामाजिक सञ्जालमार्फत आम नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग उनले मागेका सुझावमा ‘पहिलो, निर्वाचनमा पार्टीको कमजोर नतिजाका कारण–नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, एजेन्डा र प्रचारलगायत आन्तरिक तथा बाह्य पक्षको विश्लेषण । दोस्रो, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका ठोस प्रस्ताव तथा त्यसको विधि र प्रक्रिया । तेस्रो, पार्टीका सबल र कमजोर पक्षसहित भविष्यको सम्भावनाबारे धारणा’ रहेका छन् ।
भट्टराईले समीक्षा आग्रह वा पक्षपातभन्दा माथि उठेर हुनुपर्नेमा पनि जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया