काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोप छ ।
पक्राउ पर्नेमा कास्की घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३३ वर्षीय आशिष महत, रामेछाप घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ३५ वर्षीया संगीता श्रेष्ठ, बर्दिया घर भई कीर्तिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीय अर्जुनबहादुर पौडेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरुङ र ललितपुरको महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही घर भएका ४६ वर्षीय डिल्लीराम भुजेल रहेका छन् ।
पक्राउ परेकामध्ये आशीषले बेलायत पठाइदिन्छु भन्दै १ जनाबाट २३ लाख रुपैयाँ, संगीताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ६८ हजार रुपैयाँ, अर्जुनले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ, डिल्लीले मालदिभ्स पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख ९९ हजार रुपैयाँ र उमाले बेलायत पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रुपैयाँ, लिएको आरोप छ ।
रकम लिएर सम्पर्कविहीन भएका उनीहरूलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया