काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटलाई काठमाडौं बाहिर विस्तार गर्ने उद्देश्यका साथ यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मधेश प्रदेशको धनुषा र वीरगञ्जमा आयोजना गर्ने भएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका सबै प्राविधिक कामहरू सम्पन्न भइसकेको जानकारी दिए ।
सिंहकाअनुसार विगतमा धनुषामा पहिलो पटक जय ट्रफी आयोजना गरिएको सफलतापछि यसपाली क्यानले नै प्रधानमन्त्री कप जस्तो ठूलो प्रतियोगिता मधेशमा ल्याएको हो । उनले यस प्रतियोगितालाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गरेर राष्ट्रिय टिममा स्थान बनाउने ‘लक्की पोइन्ट’ भएको बताए ।
यसअघि लुम्बिनी प्रदेशमा आयोजना गरिएको यो प्रतियोगिता यसपटक मधेशमा ल्याइनुको मुख्य कारण क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी समग्र देशव्यापी बनाउनु रहेको सिंहले बताए ।
क्यानका सबै पदाधिकारीहरूले क्रिकेटलाई देशका विभिन्न कुनामा पुर्उाउने वातावरण सिर्जना गरेको उनको भनाइ छ ।
शनिबारबाट शुरु हुने प्रतियोगिताको तयारीबारे जानकारी दिँदै उनले ग्राउण्डको प्रिपरेसन लगभग सकिएको बताए । मौसमको प्रतिकूलताका कारण क्यानका अध्यक्षको आगमनमा केही अन्योल देखिए पनि टिमलाई बोलाउने काम भइरहेको सिंहले बताए ।
नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप यस वर्ष पहिलो पटक मधेश प्रदेशमा आयोजना हुन लागेको हो । मधेश प्रदेश क्रिकेट विकास समितिका सदस्य आकाश पाण्डेकाअनुसार यस प्रतियोगितामा कुल १० वटा टिमले सहभागिता जनाउनेछन् ।
सहभागी टिमहरूमा सातवटा प्रदेश र तीनवटा विभागीय टिम (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लव) रहेका छन् ।
प्रतियोगिताको शुरुवाती तालिकाअनुसार काठमाडौंको टीयु ग्राउण्डसहित तीनवटा भेन्यु तय गरिएको भएपनि हाल टीयू ग्राउण्डमा रंगशाला स्तरोन्नतिको काम भइरहेकाले सबै खेलहरू मूलपानी र मधेश प्रदेशका ग्राउन्डहरूमा सारिएको छ ।
प्रतियोगिताका १७ वटा म्याच जनकपुरमा र १८ वटा म्याच वीरगञ्जमा खेलिनेछ ।
प्रतियोगिताको फाइनल खेल वीरगञ्जको टिडीएसआइ स्टेडियममा हुने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया