काठमाडौं । कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको ब्यारेकभित्रै प्रवेश गरेर व्यापारीहरूको एउटा समूहले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)माथि हातपात गरेको छ ।
टीकापुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा ब्यारेकभित्रै प्रवेश गरेर स्थानीय व्यापारीहरूको समूहले सशस्त्रका डिएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन् । एक दर्जनबढीको संख्यामा ब्यारेकभित्रै प्रवेश गरेका स्थानीय व्यापारीहरूले उनीमाथि हातपात गरेका हुन् । ब्यारेक प्रवेश र डीएसपीमाथि धकेलाधकेलको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।
मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एन्ड सप्लायर्सले खक्रौला नाका हुँदै भारतबाट नेपालतर्फ ल्याइरहेको सामान सशस्त्रले बरामद गरेको विषयलाई लिएर यो घटना भएको जनाइएको छ ।
सो सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो । सो सामानलाई अवैध भनेपछि विवाद बढेको व्यवसायीको आरोप छ ।
टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले सशस्त्रको सो कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धित व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरिसकेको छ । सशस्त्रले सीमा क्षेत्रमा व्यवसायीलाई अनावश्यक दुःख दिइरहेको पनि बताइएको छ ।
अवैध रूपमा हुने चोरी–तस्करी रोक्नुपर्ने दायित्व स्थानीय प्रशासनको भएको, त्यसमा व्यवसायीहरूले पनि सहयोग गरिरहेको अवस्था भएपनि खक्रौलामा सशस्त्रले बिलबिजक भएकै सामान पनि अवैध भनेर बरामद गर्दै दुःख दिन थालेको व्यवसायीको आरोप छ । मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डिएसपी प्रदीप पौडेलको ध्यानाकर्षणसमेत गराइएका जनाइएको छ ।
उता, घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ । बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
अहिले वैद्यनाथ बाहिनीका निमित्त प्रमुखमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदी छन् ।
एसएसपी सुवेदीले बीओपी खक्रौलामा कार्यरत डिएसपी बाहेकका सबैलाई गणमा तान्न निर्देशन दिएका छन् । उनले बुधबार नै डिएसपी प्रदीप पौडेलबाहेक बीओपीमा कार्यरत ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तानेर नयाँ टिम पठाउन निर्देशन दिएको भएपनि कार्यान्वयनमा आएको छैन ।
अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको गणपतिमा सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खुमबहादुर केसी छन् । उनले अहिलेसम्म कसैलाई पनि गणमा तानिसकेका छैनन् । बीओपीमा कार्यरतलाई गणमा तान्ने नतान्ने विषयमा छानबिन पछि मात्र निर्णय लिइने उनको भनाइ छ ।

एसपी केसी यसअघि बारामा थिए । सशस्त्र प्रहरीले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा उनलाई उत्कृष्ट गणपति भन्दै सम्मानसमेत गरेको थियो । उत्कृष्ट गणपति भएकै कारण उनलाई बाराबाट धनगढीमा लगातार दोहो¥याएर कमान्ड दिइएको थियो ।
सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी केसी पछिल्ला दिनमा राजस्व छली नियन्त्रणमा गम्भीर नबनेको स्रोतको भनाइ छ । उता, निमित्त बाहिनीपति सुवेदी पनि यो विषयमा गम्भीर छैनन् । उनको विगतको गतिविधिले पनि यसलाई प्रमाणित गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया