काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबिच स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्न अनुदानसम्बन्धी समझदारीपत्र (एमओयू) बिहीबार हस्ताक्षर गरिएको छ ।
सम्झौताअनुसार, अस्पतालले महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूबाट निस्कने स्वास्थ्यजन्य फोहोरको व्यवस्थापनका लागि प्लान्ट निर्माण गर्नेछ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार महानगरले यसका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन केन्द्र विस्तारसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै भनिन्, ‘प्रत्येक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र विस्तार भएसँगै स्वास्थ्यजन्य फोहोरको प्रभावकारी व्यवस्थापन आवश्यक छ। यस एमओयूले प्रसूति गृह र महानगरका केन्द्रबाट निस्कने फोहोरलाई एकै ठाउँमा व्यवस्थापन गर्ने व्यवस्था सुनिश्चित गर्नेछ ।’
उनीहरूले प्लान्ट निर्माण कार्य तत्काल थालनी गरी समयमै सञ्चालनमा ल्याउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया