‘लालीबजार’मा स्वस्तिमाको बोल्ड भूमिका, भन्छिन्– ‘मेरो लागि नयाँ चुनौती’

लोकपथ
56
Shares

 काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘लालीबजार’ मा फरक भूमिकामा देखिने भएकी छन् । सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा उनले आफूले चाहेजस्तो काम गर्ने अवसर पाएको बताएकी छन् ।

चलचित्रको सार्वजनिक गीत र टिजरले सकारात्मक प्रतिक्रिया पाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले निर्माण टिमप्रतिको विश्वास र उठाइएको विषयवस्तुका कारण ‘लालीबजार’ रोजेको बताइन् । अभिनय यात्राको करिब एक दशकपछि पहिलो पटक अडिसन दिएर चलचित्रमा अनुबन्धित भएको उनले खुलाइन् ।

उनले भनिन्, ‘यो चलचित्रमा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै कुरा गर्न पाएकी छु। विषयवस्तु मेरो लागि नयाँ र फरक छ। यस्तो भूमिका निर्वाह गर्नु कलाकारका लागि अवसर र चुनौती दुवै हो।’

चलचित्रमा खड्काले यौन पेसाकर्मी महिलाको भूमिका निर्वाह गरेकी छन्, जुन उनको अघिल्ला भूमिकाभन्दा भिन्न रहेको बताइएको छ ।

आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने ‘लालीबजार’ मा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी र विशाल देवकोटाको अभिनय रहेको छ ।

चलचित्रलाई यम थापा ले निर्देशन गरेका हुन् भने पटकथा तथा संवाद प्रदीप भट्टराई सँग मिलेर तयार पारिएको हो । चलचित्रको निर्माण दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले संयुक्त रूपमा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?