काठमाडौं । विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र लगानी स्वदेशमा ल्याउन सहज वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले नीतिगत र कार्यगत सुधार तीव्र बनाएको छ ।
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली लक्षित नयाँ संयन्त्र र कानुन निर्माणको काम अघि बढेको जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परराष्ट्र मन्त्रालयमा ‘श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा’ स्थापना भइसकेको घोषणा गरे ।
महाशाखाले प्रवासी नेपालीका समस्या समाधान र नीतिगत सुधारमा प्रत्यक्ष काम गर्नेछ ।
मन्त्री शर्माले विदेशी नेपालीहरूको लगानीलाई सहज बनाउन र अधिकार सुनिश्चित गर्न ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४’ परिमार्जनको प्रक्रिया अघि बढेको बताए ।
साथै, विदेशमा रहेका नेपालीहरूको यकिन विवरण राख्न एकीकृत तथ्याङ्क व्यवस्थापन प्रणाली विकास गर्ने योजना रहेको जानकारी दिए ।
त्यसैगरी, विदेशी नेपालीसँग नेपालको लगानी र सीप जोड्न ‘फरेन गेटवे सेन्टर’ सञ्चालनमा ल्याइने र यस्ता पहलहरू प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया