निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई प्रमाणपत्रसहित बिदाइ

लोकपथ
0
Shares

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा खटिएका निर्वाचन प्रहरीको आज औपचारिक बिदाइ गरिएको छ ।

प्रहरी वृत्त गौशालाद्वारा आज आयोजित कार्यक्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले निर्वाचन अवधिभर निर्वाचन प्रहरीले गरेका काम सम्झनायोग्य रहेको बताए । उनले भने, ‘निर्वाचन अवधिभर निर्वाचन प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय छ । भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।’

वरिष्ठ उपरीक्षक थापाले निर्वाचन अवधिभर प्रहरीले देखाएको अनुशासन, इमानदारिता र समर्पण सराहनीय रहेको उल्लेख गर्दै निर्वाचनजस्तो संवेदनशील तथा महत्त्वपूर्ण प्रक्रियालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्वाचन प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

प्रहरी वृत्त गौशालाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश सिरमलले निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीले अत्यन्त जिम्मेवार ढंगले आफ्नो कर्तव्य निर्वाह गरेको बताए । उनले निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सबैले सक्रियता र सजगता अपनाएको उल्लेख गरे ।

उनले भविष्यमा पनि समाज र राष्ट्रका लागि सकारात्मक काम गर्दै प्रहरी संगठनलाई सहयोग गरिरहने विश्वास व्यक्त गरे ।

निर्वाचनका क्रममा मतदान केन्द्रको सुरक्षा, मतदाता व्यवस्थापन, भीड नियन्त्रण तथा सम्भावित विवाद समाधान जस्ता कार्यमा निर्वाचन प्रहरीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि काठमाडौंमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?