कुष्ठरोग निवारणयोग्य भए पनि समाजमा अझै नकारात्मक धारणा छ : मन्त्री सिन्हा

लोकपथ
63
Shares

 काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग स्वास्थ्यसम्बन्धी समस्या भए पनि समाजमा यसप्रतिको दृष्टिकोण अझै नकारात्मक रहेको बताएका छन् ।

२८औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले कुष्ठरोग निवारणयोग्य रोग भए पनि समाजमा अझै उपेक्षा र गलत धारणा कायम रहेको बताए ।

उनका अनुसार कुष्ठरोगबाट प्रभावित व्यक्तिहरू सामाजिक, मनोवैज्ञानिक र आर्थिक रूपमा जटिल समस्यामा पर्ने गरेका छन् । समाजमा फैलिएको गलत धारणा र भेदभावपूर्ण व्यवहार अन्त्य गर्न सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको उनले बताए ।

मन्त्री सिन्हाले सामाजिक व्यवहार सुधार गर्न प्रारम्भिक चरणदेखि नै सकारात्मक शिक्षा आवश्यक रहेको पनि उल्लेख गरे । प्रभावित व्यक्तिहरूले भोग्ने पीडालाई शब्दमा व्यक्त गर्न नसकिने भन्दै उनले कुष्ठरोग निवारणका लागि सरकारले गर्नुपर्ने काम पर्याप्त रूपमा गर्न नसकेको स्वीकार गरे ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उनले शारीरिक अवस्थाका आधारमा भेदभाव गर्न नहुने बताए । कुष्ठरोगलाई स्वास्थ्यसम्बन्धी रोगका रूपमा उपचार गर्दै प्रभावित व्यक्तिहरूको मनोवैज्ञानिक अवस्था र सामाजिक प्रतिष्ठालाई जोगाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रभावित व्यक्तिहरूलाई समाजमा पुनः स्थापित गर्न ज्ञान, सीप, कला र शिक्षामा आधारित प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

यसैबिच मन्त्री सिन्हाले कानुन मन्त्रालयलाई कुष्ठरोगसम्बन्धी गुनासाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिएका छन् । आवश्यक कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले सरोकारवालासँग परामर्शबिना बनाइने कानुन अपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?