अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

लोकपथ
0
Shares

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार २०० बराबरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।

ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी रु एक लाख २४ हजार बराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ । त्यसैगरी शुद्धोधन गाउँपालिका-३ पूर्व मैनहिया नयाँ बस्तीबाट रु २७ हजार बराबरको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ ।

मायादेवी गाउँपालिका-६ खल्बटबाट रु ७२ हजार ५०० बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका-४ केरवानीबाट दुई वटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी रु एक लाख २२ हजार रहेको छ ।

त्यसैगरी रोहिणी गाउँपालिका–३ लखनौटियाबाट रु २२ हजार १०० बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाई तथा अन्य किराना सामग्री बरामद गरिएको छ । कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुई वटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी रु एक लाख ११ हजार ६०० रहेको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट रु एक लाख ५० हजार बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । बरामद गरिएका सामग्री सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?