काठमाडौं । फागुन २१ को निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । देशभर प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ स्थानमा जित हासिल गरिसकेको छ ।
समानुपातिक मतमा समेत रास्वपाले ठूलो अग्रतासहित अग्रस्थानमा रहेको छ । जेनजी आन्दोलनको राप र तापमा भएको निर्वाचनका कारण पुराना राजनीतिक दलहरुमा देखिएको वितृष्णा मतमार्फत् मतदाताहरुले पोखिदिए ।
०७९ को निर्वाचनमा राम्रो सिटसहित संसदको चौथो शक्ति भएको रास्वपाका लागि यो निर्वाचनको परिणाम यो किसिमको आउँछ भन्ने अनुमान नै नभएको आन्तरिक विश्लेषण भइरहेको छ । एकातिर पूराना राजनीतिक दलहरुप्रतिको वितृष्णा पैदा भइरहेका बेला युवादेखि आम मतदाताहरुमा राम्रो छाप पारेका बालेन्द्र शाह ‘बालेन’ लाई पार्टीमा भित्र्याउनु नै रास्वपाको प्लस पोइन्ट बन्न पुग्यो ।
यसअघि स्थानीय तह निर्वाचनमा काठमाडौं जस्तो ठाउँमा दलहरुको किल्ला भत्काएर जित निकालेका बालेन एकाएक रास्वपा आउनुले यो निर्वाचन रास्वपाका लागि थप फलदायी सावित भयो ।
बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा जुन टिम बनाएर काम गरेका थिए, अधिकांशलाई यो निर्वाचनमा टिकट समेत दिलाए । धेरै स्थानमा बालेन टिमका सदस्यहरुले जित हासिल गरे । तर बालेन मेयर रहँदा स्वकीय सचिव रहेर महानगरमा हर्ताकर्ता देखिएका भुपदेव शाह भने विजेतासँग प्रतिष्पर्धामा नै नआई पराजित बन्न पुगे ।
सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले जित हासिल गरेका छन् । बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरे ।
यता नेकपाका उम्मेदवार बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत प्राप्त गरेका छन् । तर रास्वपाबाट उम्मेदवार बनेका बालेनका सारथी भुपदेवले भने चौथो भएका छन् । उनले ४ हजार ५ सय ६२ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया