ओलीले राजीनामा नदिएपछि धमाधम राजीनामा दिन थाले एमाले नेताहरू, ओलीमाथि नैतिक दबाब

लोकपथ
7k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामाको दबाब बढ्दै गएको छ । झापा–५ बाट उम्मेदवार बनेका अध्यक्ष ओली स्वयं हारेलगत्तै पार्टी नेतृत्वबाट राजीनामा दिने अपेक्षामा रहेका नेताहरू उनले राजीनामा दिने कुनै संकेत नदेखाएपछि आफै धमाधम राजीनामा दिन थालेका छन् । 

पार्टीका उम्मेदवार हारेको भन्दै एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिने घोषणा  गरेका छन् । उनले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । 

पोखरेलले शीर्ष नेतृत्वले समेत पराजयको नैतिक जिम्मेवारी लिएर आवश्यक परे पद त्याग गर्दै पार्टी पुनर्गठनतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले परिणामको जिम्मेवारी स्वीकार गर्दै आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । २०८१ जेठ २१ मा पोखरेल ३१३ मत सहित अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै, नेकपा एमाले कास्कीका सल्लाहकार सदस्य खगराज आचार्यले पनि पदबाट राजीनामा दिएका छन् । एमालेको लज्जास्पद हारपछि पनि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै उनी आफैले राजीनामा बुझाएका हुन् । 

‘नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको लज्जास्पद हारपश्चात् पनि अध्यक्ष पदबाट तत्काल राजीनामा नदिएको यस घडीमा म कास्की जिल्ला पोखरा महानगरपालिका–। २१ निवासी  खगराज आचार्यले आजैको मितिबाट लागु हुने गरी नेकपा एमाले कास्की जिल्ला कमिटीको सल्लाहकार पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् । 

आचार्य २०७४ को निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर २१ को अध्यक्ष निर्वाचित भएका थिए । उक्त वडालाई एमालेले आफ्नो किल्ला ठान्दै आएको थियो । विगतका निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत एमालेले पाउने यो वडामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएको छ । आचार्य पार्टीले पछिल्ला दिनमा गरेका गतिविधिप्रति सन्तुष्ट छैनन् । 

उनले दैनिकजसो अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने र नयाँ नेतृत्वले पार्टी हाँक्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनले आफ्नो वडाध्यक्षको कार्यकालमा पनि एमाले पार्टीबाट खासै सहयोग नपाएको गुनासो गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?