काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको बताएका छन् ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा निकायहरूबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।
उनका अनुसार देशका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने केही स्थानमा सामान्य विवादका घटना बाहेक ठूलो समस्या नदेखिएको उनले बताए । दोलखाका केही मतदान केन्द्रमा देखिएको विवाद समाधानका लागि राजनीतिक दल र निर्वाचन अधिकृतबीच छलफल भइरहेको उनले जानकारी दिए ।
आईजीपी कार्कीले मतदानको दिनसम्म आइपुग्नुअघि नै सबै सुरक्षा निकायबीच एकीकृत सुरक्षा योजना बनाएर पूर्वतयारी गरिएको र सोही रणनीतिले प्रभावकारी रूपमा काम गरेको बताए । ‘देशभरका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । दोलखामा केही विवाद देखिए पनि त्यसको समाधानका लागि छलफल भइरहेको छ, ‘उनले भने ।
उनले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भए पनि सीमित स्रोतसाधनका बाबजुद सुरक्षाकर्मीहरूले समर्पित भावनाका साथ काम गरेको बताए ।
कार्कीले नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोतसाधन वा कानुनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको उल्लेख गरे । सुरक्षाकर्मीहरूले मुलुकलाई सर्वोपरि मानेर व्यक्तिगत सुविधा त्याग्दै कर्तव्य निर्वाह गरेका कारण घोषित मितिमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सम्भव भएको उनको भनाइ थियो ।
कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारीसाधनबीच पनि सुरक्षाकर्मीहरू सीमित स्रोत–साधनका बाबजुद सडकमा खटिएर जिम्मेवारी पूरा गर्न सफल भएको उनले बताए ।
आईजीपी कार्कीले अब मतपेटिका संकलनदेखि मतगणना सम्पन्न नहुँदासम्म सुरक्षा निकायका लागि स्पष्ट जिम्मेवारी तोकिएको र सोही योजना अनुसार सुरक्षा व्यवस्था अघि बढाइने जानकारी दिए ।
*यसअघि आईजीपी कार्की हुनुपर्नेमा अर्याल भएकाले सच्याइएको छ । –सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया