काठमाडौं । पर्साबाट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई शंकास्पद वस्तुसहित प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को संयुक्त जाँच टोलीले हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शंकास्पद वस्तु फेला परेको जनाएको छ । उक्त वस्तुबारे अनुसन्धान जारी रहेको छ ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका-४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका-४ का सुरज कार्की र पर्सागढी नगरपालिका-३ का सत्यनारायण थारू रहेका छन् ।
यसैगरी, वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँमा विशेष सूचनाका आधारमा गरिएको अर्को अपरेसनमा नौ थान सुतली बम, एक थान सुँगुरको टाउको र करिब १० मिटर वाइरिङ तारसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया