निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

लोकपथ
21
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् । 

निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरे । 

कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैधतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । 

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन हुनेछ । 

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । यस्तै १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । 

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका कावा प्रमुख आयुक्त भण्डारीले जानकारी दिई । 

निर्वाचनमा २ लाख १५ हजार कर्मचारी खटिँदै छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?