काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत निर्वाचन विरोधी गतिविधिमा संलग्न १७६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचन बिथोल्ने प्रयास, ‘मिसइन्फरमेसन’ र ‘डिसइन्फरमेसन’ प्रवाह गर्ने, सवारी साधनमा आगजनी गर्नेलगायत गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनका अनुसार सुरक्षालाई चुस्त र प्रभावकारी बनाइएकाले राजधानीमा राति दुई वटा सवारी साधनमा आगजनी भएको बाहेक निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका घटना नभएको बताए ।
प्रवक्ता काफ्लेले देशभरका सबै मतदानस्थलमा प्रहरी परिचालन भइसकेको र आवश्यक स्थानमा मोबाइल तथा रिजर्भ टोलीसमेत खटाइएको बताए । जिल्लास्तरमा सर्वदलीय तथा सर्वपक्षीय बैठकमार्फत सुरक्षा समन्वय सुदृढ पारिएको उनले उल्लेख गरे ।
सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग, मौन अवधि उल्लङ्घन र अफवाह फैलाउने गतिविधिमाथि विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मंगलबार केन्द्रीय निर्वाचन सेलको अनुगमन गरी मौन अवधिमा सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।
प्रहरीका अनुसार मंगलबार विभिन्न स्थानमा सर्वसाधारणलाई तर्साउन राखिएका पाँच वटा नक्कली शंकास्पद वस्तु फेला परेका थिए, जसलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया