आजको मौसम : हिमाली भू-भागका एक दुई स्थानमा हिमपातको सम्भावना

लोकपथ
28
Shares

काठमाडौं ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लागेको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भागका केही स्थानमा तुवाँलो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । 

देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम सफा रहनेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा  अन्य प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित अन्य हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?