काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो ।
निर्वाचन आउन अब मात्र ६ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला घरदैलो अभियान र चुनावी सभाहरूमा व्यस्त छन् । काठमाडौंका ठुला होटलदेखि चिया पसलसम्म चुनावी चर्चा चुलिएको भएपनि नीति निर्माणको थलो सिंहदरबार भने कर्मचारीहरूको नियमित उपस्थितिमा मात्र सिमित भएको छ ।
सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा सर्वसाधारणको उपस्थिति नगन्य छ । मन्त्रीहरू पनि चुनावी सुरक्षा लगायतका प्रबन्ध र व्यवस्थापनको सुनिश्चितताका लागि विभिन्न जिल्लामा पुगेका छन् । यसले मन्त्रालयका दैनिक कार्यसम्पादनमा समेत केही सुस्तता देखिएको छ ।
गाउँ–गाउँमा चुनावी रौनक बढिरहँदा सिंहदरबारको यो मौनताले निर्वाचनको संवेदनशीलता र शक्ति विकेन्द्रीकरणको अभ्यासलाई पनि संकेत गरेको छ । अबको केही दिनमा हुने मतदानले सिंहदरबारमा नयाँ अनुहारहरू भित्र्याउनेछ वा पुरानाकै निरन्तरता हुनेछ । त्यो भने आम मतदाताको हातमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया