नेपालमा विदेशी कामदारको संख्या बढ्दो, ७४ देशका नागरिक श्रम इजाजत लिएर कार्यरत

नेपालको निर्माणदेखि हस्पिटलसम्ममा विदेशी नागरिकहरु कार्यरत

लोकपथ
63
Shares

नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हबाइ उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् । विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् । भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिननपर्ने भएकाले उनीहरुको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन ।

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले अहिले संख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताए । उनकाअनुसार वर्षेनी करिब १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् ।

त्यस्तै बेलायत (युके) बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापनबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् । ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भएपनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक संख्या अभिलेखमा नरहेको पाण्डेले बताए ।

उनकाअनुसार नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठानमा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।

नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनस्र्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नविकरण गराएर बस्न पाउने व्यवस्था छ ।

विभागकाअनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् । चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ । यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् । केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेशन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।

नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिने भएपनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।

महानिर्देशक पाण्डेले भने, ‘विदेशबाट नेपालमा काम गर्न आउने नागरिकको संख्या बढिरहेको छ । ७४ देशका नागरिकले नेपालमा इजाजत लिएर काम गरिरहेका छन् । संख्यात्मक रुपमा सबैभन्दा बढी चिनबाट काम गर्न श्रम इजाजत लिएको देखिन्छ । वर्षेनी १६ सय चिनियाँ नागरिकले नेपालमा आएर काम गरिरहेका छन् । त्यस्तै युकेबाट पनि एकसय भन्दा बढी नागरिकले नेपालमा आएर काम गरिरहेका छन् । जापानबाट १०० जना भन्दा बढीले नेपालमा आएर कम गरिरहेका छन् । ठूलो संख्यामा भारतीय नागरिकहरु पनि नेपाल आएर काम गरिरहेका छन् । भारतीय नागरिकले नेपालमा आएर काम गर्न श्रम इजाजत लिन नपर्ने भएकाले त्यो संख्याको अभिलेख छैन । नेपाल भारतबीचको सन् १९५० को सन्धीअनुसार नेपाली र भारतीयले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण भारतीयले नेपालमा श्रम इजाजत लिन पर्दैन् । तथापी केही प्रतिष्ठानहरुमा उच्चस्तरमा काम गर्ने ३० जना भारतीय नागरिकले श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । संख्यात्मक रुपमा हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या ८९२ रहेको छ भने पुराना १६६७ जना विदेशीले श्रम नविकरण गराएका छन् । नेपालमा २५५९ जना विदेशीलाई श्रम रोजगार तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिएर काम गरिरहेका छन् । चालु आर्थिक वर्षको माघ मशान्तसम्ममा नयाँ श्रमस्वीकृति लिनेको संख्या ३७३ जना रहेका छन् भने श्रम इजाजत नविकरण गराउनेको संख्या ७९३ गरी ११ सय ६६ जना विदेशीले श्रम इजाजत लिएका छन् । नेपालमा श्रम ऐनअनुसार बढी दक्षलाई बढिमा ५ वर्ष काम गर्न र अन्य प्राविधिकलाई ३ वर्ष काम गर्न दिने व्यवस्था छ । त्यसमा बढि दक्ष कामदारले पुनःस्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिक १२ बर्षसम्म श्रम नविकरण गराएर बस्न सक्छन् । खासगरी निर्माण क्षेत्रमा विदेशी नागरिकहरु छन् । जहाँ प्रविधिको धेरै प्रयोग हुन्छ त्यस्ता क्षेत्रमा विदेशी कामदारहरु धेरै रहेका छन् । सुरुङ टर्नेल, जलविद्युत निर्माणजस्ता ठूलठूला परियोजनामा विदेशीहरुले आएर काम गरिरहेका छन् । चिनियाँ सहयोगमा बनेका ठूलाठूला सिमेन्ट, जलविद्युत उद्योगहरुमा चिनियाँ नागरिकहरु आएर काम गरिरहेका छन् । नेपालमा संचालित ब्रिटिस स्कुलहरुमा धेरै युकेका नागरिकहरु कार्यरत छन् । जापानिज परियोजनाहरुमा १०० भन्दा बढी जापानी नागरिकले नेपालमा रोजगारी पाइरहेका छन् । नेपालका केही हस्पीटलहरुमा कार्यरत डाक्टरहरु पनि विदेशी रहेका छन् । नेपालमा सञ्चालित केही एयरलाइन्सहरुको स्टेशन म्यानेजरका रुपमा विदेशी आएर काम गरिरहेका छन् । अहिले कतिपय विश्व विद्यालयहरुमा विदेशीहरुले शिक्षकको रुपमा नेपालमा आएर काम गरिरहेका छन् । नेपाल सरकारसँग कतिपय परियोजना सम्झौता गर्दा कतिपय विदेशीहरुलाई श्रमस्वीकृति लिन नपर्ने गरी पनि गरेको हुन् कतिपय सम्झौताहरु पनि गरेका हुन्छन् । तर अत्याधिकलाई श्रम स्वीकृति लिनैपर्ने हुन्छ । कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरिरहेको छ भने कारबाही गर्ने गरेका छौँं ।’

भारतीय मजदुरको नेपालमा आएर काम गर्नेको अभिलेख राम्रोसँग नराखिएपनि निर्माण क्षेत्र ठूलो मात्रमा भारतीयहरु रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।उनकाअनुसार नेपालका निर्माण क्षेत्रमा अहिले पनि करिब ७ लाख भारतीय मजदुर कार्यरत छन् । नेपालमा निर्माण क्षेत्रमा काम गर्ने मजदुरको अभाव चरम छ । विदेशीने होडले गर्दा मजदुर नपाइएको र भारतबाट ठूलो संख्यामा मजदुर ल्याउन परेको सिंह बताए ।

उनकाअनुसार भारतका गाउँगाउँमा गएर मजदुर ल्याउनुपर्ने अवस्था छ । अहिले मजदुर ल्याउने होड चलेको छ, जसमा धेरैलाई आश्वासन दिएर झुक्याउने प्रवृत्ति पनि बढेको छ । निर्माण कम्पनीहरूबीच प्रतिस्पर्धा हुँदा मजदुर तानातान हुने र पेश्की दिएको रकम फिर्ता लिनसमेत कठिनाइ हुने अवस्था रहेको उनले बताए ।

कतिपय अवस्थामा २५ लाखमा सहमति गरेको काममा अन्य कम्पनीले २७ लाख प्रस्ताव गर्दा मजदुरले धोका दिएर अन्यन्त्रै जाने गरेका छन्, जसले गर्दा समय नोक्शानी हुने गरेको सिंहको भनाइ छ । सिंहकाअनुसार एउटा मजदुर टोली ल्याउन ५–७ दिन लाग्ने गरेको छ । सिंहले उद्योगधन्दा र निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको संख्या २० लाखभन्दा बढी हुनसक्ने आकलन गरे ।

अध्यक्ष सिंहले भने, ‘करिब ७ लाख भारतीय मजदुर नेपालको निर्माण क्षेत्रमा कार्यरत छन् । अहिले पनि मजदुर अभाव छ । आफैँ भारतको गाउँगाउँमा गएर मजदुरहरु ल्याएर काम गराउनुपर्ने स्थिति छ । अहिले एककिसिमको होडजस्तो चलेको छ । मजदुर ल्याउनेहरुले धेरै जनालाई आश्वासन दिएर झुक्याइरहेको अवस्था छ । प्रत्येक निर्माण कम्पनीले होडबाजी गरेर भारतबाट मजदुरहरु ल्याउने र ल्याइरहेका ती मजदुर तानातानमा पर्ने क्रम चलेको छ । कतिपय बेला पेश्की दिएको रकम पनि प्राप्त गर्न गाह्रो पर्ने गरेको छ । कतिपय बेला २५ लाखमा पाएको काम अरुले २७ लाख दिँदा मजदुरहरुले काम छाडेर अन्त काम गर्न जाने गरेका छन् । यसले गर्दा हामीले समय गुमाउने गरेका छौँ । एउटा मजदुर टोली ल्याउन ५–७ दिन लाग्ने गरेको छ । अत्यन्त धेरै ठूलो संख्यामा अहिले भारतीय मजदुरहरुले नेपालको विकास निर्माणको काम गरिरहेका छन् । उद्योगधन्दामा पनि ठूलो संख्यामा भारतीय मजदुरहरु छन् । निर्माण क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा भारतीय मजदुरको संख्या २० लाख भन्दा बढी हुनसक्छ । नेपालीहरु विदेश जाँदा कम्तीमा २ वर्षका लागि विदेश जाने गरेका छन् भने भारतीयहरु नेपाल काम गर्न आउँदा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् ।’

सिंहकाअनुसार निर्माण क्षेत्रमा कार्यरत भारतीय मजदुर नेपाली भन्दा फरक हुन्छन् । नेपाली श्रमिकहरू विदेश जाँदा कम्तीमा दुई वर्षका लागि जाने गर्छन् भने भारतीय मजदुरहरू नेपालमा बढीमा ६ महिना काम गरेर फर्कने गरेका छन् ।

श्रमिकको सम्मान र काम गर्ने वातावरण अभावका कारण नेपालीहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने, काम गर्ने अवसर सिर्जना गर्नुपर्ने र श्रमको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?