काठमाडौंमा धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश, उता झापामा दुई कार्यकर्ता पक्राउ 

लोकपथ
84
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार सो आदेश दिएको हो ।

सर्वोच्चले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा यो आदेश दिएको छ । सर्वोच्चको आदेशपछि बास्तोलाको रिहाइ प्रक्रिया सुरु भएको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

यसअघि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सोमबार कारण देखाऊ आदेश मात्रै जारी गरेको थियो ।

गृह मन्त्रालयसहितका विपक्षीले बास्तोला पक्राउ गर्नुको कारण पेस गरेपछि उनको रिट निवेदनमा फैसला भएको हो ।

उता, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई जना कार्यकर्तालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याललाई पक्राउ गरेको हो । उनीहरूलाई बुद्ध शान्ति गाउँपालिकाबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले उनीहरू पक्राउको पुष्टि गरे । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । उनीहरू फागुन २१ गते हुने निर्वाचनका विरोधमा गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् ।

यसैबिच, पार्टीका कार्यालय सचिव अविरलले प्रेस विज्ञप्ति जारी गर्दै संगठनात्मक कामका क्रममा रहेका नेतामाथि न्यूनतम लोकतान्त्रिक अधिकारसमेत उल्लंघन हुने गरी गैरन्यायिक रूपमा पक्राउ गरिएको आरोप लगाएका छन् ।

विज्ञप्तिमार्फत तत्काल उनीहरूको रिहाइको मागसमेत गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी बहुमतले पछिल्लो समय निर्वाचन बहिष्कारसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?