राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

लोकपथ
112
Shares

 दाङ । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाका १० बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ । 

गाउँपालिकाले निकुञ्जभित्र पर्ने वडा नं. १ र ७ का बस्तीलाई स्थानान्तरण गर्न औपचारिक रूपमा सिफारिस गरेको हो ।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले हालै निकुञ्ज प्रशासनलाई पत्राचार गर्दै किउरेनी, बन्चरे, बाटुले, गौजे, जीला, सिमलकुना, डाँडागाउँ, कप्ताने, जलजला र मलाई बस्तीलाई सुरक्षित स्थानमा सार्न पहल गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष खत्रीका अनुसार ती बस्तीहरूमा राष्ट्रिय निकुञ्ज घोषणा हुनुभन्दा करिब ५० वर्षअघिदेखि मानव बसोबास रहँदै आएको छ। तर हाल ती क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेकाले स्थानीय नागरिकले विभिन्न समस्या भोग्नुपरेको छ ।

‘मध्यवर्ती क्षेत्रमा परेकाले निकुञ्जबाट आउने जंगली जनावरले मानव जीवन, घरपालुवा जनावर र बालीनालीमा निरन्तर क्षति पुर्‍याउँदै आएका छन्, ‘अध्यक्ष खत्रीले भने, ‘जोखिमयुक्त स्थानमा बस्नुको विकल्प नहुँदा नागरिक पीडित छन् । राष्ट्रिय निकुञ्जको क्षेत्र भएकै कारण तीन वटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्न कठिनाइ हुँदा उनीहरू राज्यका आधारभूत सेवासुविधाबाट समेत वञ्चित भएका छन् ।’

उनका अनुसार नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, राज्यबाट प्राप्त हुने सेवा–सुविधामा पहुँच विस्तार गर्न तथा निकुञ्जको मध्यवर्ती क्षेत्रलाई व्यवस्थित राख्न बस्ती स्थानान्तरण आवश्यक देखिएको हो ।

उक्त क्षेत्रमा सडक सञ्जालको सहज पहुँच छैन भने दूरसञ्चार सेवा समेत प्रभावकारी छैन । जंगली जनावरले बालीनाली नष्ट गर्दा समेत कानुनी जटिलताका कारण स्थानीयले प्रतिकार गर्न नसक्ने अवस्था रहेको जनाइएको छ ।

पीडित नागरिकहरूले आक्रोश व्यक्त गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णयसमेत गरेका थिए । स्थानीय असन्तुष्टिका कारण हाल कुनै पनि उम्मेदवार भोट माग्न उक्त बस्तीमा नपुगेको जनाइएको छ। विगतका निर्वाचनमा भने उम्मेदवारहरू प्रचारप्रसारका लागि त्यहाँ पुग्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?