काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ ।
निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबिच झडप हुनसक्ने र निर्वाचन बिथोल्न लागेको केही समूहबाट सडक अवरुद्ध गर्नसक्ने आकलन गरिएको बताए । उनले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिए ।
यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताए । उनले निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए । उनकाअनुसार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या पर्नसक्ने उनको भनाई छ । सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधि र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको उहाँले जानकारी दिए । रणनीतिक स्थानहरूमा औषधि, लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यक परे आपत्कालीन मेडिकल टिम तथा र्यापिड रेस्पोन्स टिम पनि परिचालन गरिने उनले बताए । मन्त्रालयकाअनुसार निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालनमा रहनेछ ।
उनले भने, ‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन जेनजीको आन्दोलनपछि सम्पन्न हुँदैछ । त्यसक्रममा विभिन्न ठाउँहरूमा भेला, आमसभा हुने, घरदैलो हुने कार्यक्रमले एकातिर पार्टीका कार्यकर्ताहरुको बीचमा झडप हुने सम्भावना छ भने अर्कोतिर चुनावलाई बिथोल्ने केही राजनीतिक पार्टीहरू पनि छन् । यसले गर्दा हाम्रा सडक वा अन्य बाटोहरूमा अवरोध गर्दिने वा बाटो बिगार्ने वा रुख ढालेर रोक्दिने जस्ता कार्यहरू हुन सक्छन् । ती सबैलाई सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृह मन्त्रालय, प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको छ । हामीहरूले अस्पतालका र अन्य स्वास्थ्य संस्थामा काम गर्ने मानिसहरूलाई सेवा प्रवाहमा असर नपर्ने गरी मात्रै खटाउन आग्रह गरेका छौँ । भोलि झडपका कारणले गर्दा घाइतेहरू अस्पताल जाँदा स्वास्थ्यकर्मी भएनन् भने वा विभिन्न कारणले गर्दा बिरामी अस्पताल जाँदाखेरि स्वास्थ्यकर्मी भएनन् भने समस्या पर्ने हुन्छ । स्वास्थ्यलाई संवेदनशील क्षेत्र मानेर स्वास्थ्यकर्मीहरू सबै बिदामा नबसिदिने, स्वास्थ्य संस्था चलाइरहने र लामो बिदा पनि कसैलै कसैलाई नदिने हामीले भनिसकेका छौं । त्यसैगरी निर्वाचन आयोगलाई पनि हामीले स्वास्थ्यकर्मीलाई अब खटाउनै परेपनि सेवा नरोकिने गरी मात्रै खटाउनुहोला भनेर अनुरोध गरेका छौं । हाम्रो तयारी भनेको स्वास्थ्य संस्थामा कुनै कारणवश घाइतेहरू वा विरामीहरु आए भने तिनीहरूलाई उपचार गर्नका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण दिने, सामानहरूको मौज्दात राख्ने, स्वास्थ्यकर्मीलाई भर्चुअल्ली रूपमा भएपनि तालिम दिने र अन्य काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ । विपद् घण्टी बजाएर आउँदैन । जतिबेला पनि आउन सक्छ भनेर हामीले त्यहीअनुसार पूर्वतयारी गरिरहेका हुन्छौं । त्यही पूर्वतयारीलाई अलिकति परिमार्जन गर्ने काम कुनै विशेष परिस्थितिमा गर्ने गर्छौं । यस निर्वाचनको बेलामा पनि हाम्रा स्वास्थ्य संस्थाहरू बन्द हुँदैनन्, खुल्छन् । हाम्रा एम्बुलेन्स सेवाहरू पनि चल्छन् । त्यसैगरी आवश्यक पर्यो भने आपत्कालीन मेडिकल टिम र र्यापिड रेस्पोन्स टिम पनि सक्रिय भएर परिचालन हुन्छ । हामीले रणनीतिक स्थानमा चाहिने लजिस्टिकहरू, सरसामानहरू, औषधिहरू पनि भण्डारण गरिसकेका छौँ । सकेसम्म स्थानीय प्रशासनले झडप नहुने गरी र सडक तथा बाटोहरू बन्द नहुने गरी व्यवस्था मिलाइदिनका लागि हामीले अनुरोध गरेका छौं । यदि कुनै कारणवश भइहाले भनेपनि स्वास्थ्यकर्मीहरू र स्वास्थ्य संस्थाहरू तयारीको अवस्थामा छन् ।’
प्रवक्ता बुढाथोकीले जुनसुकै बेला पनि आउने भएकोले सोहीअनुसार मन्त्रालय सधैँ तयारी अवस्थामा रहने उल्लेख गरे । उनले विशेष परिस्थितिअनुसार तयारीलाई थोरै परिमार्जन मात्रै गरिने गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया