स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ ।
निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तिब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुनसक्ने र निर्वाचन विथोल्न लागेको केही समूहबाट सडक अवरुद्ध गर्नसक्ने आकँलन गरिएको बताएका छन् । उनले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुनसक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिए । यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताए । उनकाअनुसार निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको जनाए । स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या पर्नसक्ने उनको भनाई छ । उनकाअनुसार सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधि र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको छ । उनले रणनीतिक स्थानहरूमा औषधि, लजिस्टिक सामग्री भण्डारण गरिएको र आवश्यक परे आपत्कालीन मेडिकल टिम तथा र्यापिड रेस्पोन्स टिम पनि परिचालन गरिने बताए ।
मन्त्रालयकाअनुसार निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालनमा रहनेछ । प्रवक्ता बुढाथोकीले विशेष परिस्थितिअनुसार तयारीलाई थोरै परिमार्जन मात्रै गरिने गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया