तोसिमासँग मतदाता छैनन् सन्तुष्ट : जित फर्काउने दाउमा कांग्रेस-एमाले

लोकपथ
203
Shares

काठमाडौं । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ललितपुर क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी तीव्र बनेको छ । ऐतिहासिक रूपमा वामपन्थी प्रभाव बलियो मानिने यो क्षेत्र यसपटक पनि राजनीतिक चर्चाको केन्द्रमा छ । 

ललितपुर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य तुल्सीलाल अमात्यको गृहजिल्ला हो, जसले २०१५ सालको आमनिर्वाचनमा ललितपुरबाट जितेका थिए । त्यस निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले जम्मा चार सिट जित्दा काठमाडौं उपत्यकाबाट जित्ने अमात्य एक्लो वामपन्थी नेता थिए । त्यसकारण ललितपुर कम्युनिस्टहरूका लागि विशेष मानिन्छ । ललितपुरका निर्वाचन क्षेत्रमा लामो समय कम्युनिस्टहरूको प्रभाव रह्यो ।

यसपटकको निर्वाचनमा बढी चर्चामा रहेको क्षेत्रमध्ये ललितपुर क्षेत्र नम्बर ३ पनि एक हो । यो क्षेत्र रास्वपाकी नेतृ डा. तोसिमा कार्की उम्मेदवार रहेका कारण पनि चर्चामा छ । यस क्षेत्रमा राजनीतिक दलका तर्फबाट १५ र पाँच स्वतन्त्र गरी २० जना प्रतिस्पर्धामा छन् ।

ललितपुर क्षेत्र नम्बर ३ अन्तर्गत ललितपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, र २० देखि २९ र गोदावरी नगरपालिकाको १२ र १४ वडा नम्बर रहेका छन् । 

ललितपुर–३ मा कुल १ लाख २ हजार ४ सय ३७ मतदाता रहेका छन् । जसमा ४९ हजार ४ सय ११ महिला र ५३ हजार २३ पुरुष रहेका छन् । यो ललितपुरको सबैभन्दा बढी मतदाता भएको क्षेत्र हो । यस क्षेत्रमा १ सय १४ मतदान केन्द्र रहेको छ ।

प्रतिष्पर्धा तीव्र, तर छैन रास्वपाको पहिले जस्तो माहोल

यसपटकको निर्वाचनमा ललितपुर–३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनको मिति नजिकिएसँगै ललितपुर–३ का उम्मेदवारहरू घरदैलो कार्यक्रममार्फत मतदाताका घर–आँगनमा जानेक्रम झनै बढेको छ । राजनीतिक दलहरूको दाबी र चुनावी दौडधुपका बिचमा मतदाता भने निकै सचेत र आलोचनात्मक देखिएका छन् ।

अघिल्लो निर्वाचनमा अन्य दललाई चक्मा दिँदै रास्वपाकी डा. तोसिमा कार्की विजयी बनेकी थिइन् । त्यसबेला भोग्नु परेको कानुनी झमेलाले उनी मतदाताबीच थप चिनिएकी थिइन् । तर तत्कालीन माओवादी केन्द्रकी नेतृ पम्फा भुसालसहित मुख्य राजनीतिक दलका नेताहरूलाई हराएपछि उनको चर्चा चुलिएको थियो । 

यो क्षेत्रमा यसपटक पनि रास्वपाकी उम्मेदवार कार्की नै बलियो अवस्थामा रहेको देखिएको छ । तर भदौ २३ र २४ को आन्दोलनमा उनको भूमिकाका विषयमा मतदाताहरूले प्रश्न उठाइरहेका छन् । स्थानीयस्तरमा उनीविरुद्धका गुनासा भने बढेको देखिन्छ । कतिपय स्थानीयले उनलाई जिताएर पठाए पनि क्षेत्रका लागि खासै काम नगरेको आरोप लगाएका छन् ।

मतदाताहरुले तोसिमाले काम गर्न नसकेको भन्दै निरन्तर प्रश्न गर्दै आइरहेका छन् । घरदैलोमा रहेकी तोसिमाप्रति कटाक्ष गर्दै मतदाताहरुले काम गर्न नसकेकोमा आलोचना गरिरहँदा माहोल पहिलेको जस्तो नरहेको समेत बुझ्न सकिन्छ ।

अर्कोतिर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ‘गुमेको साख’ फर्काउने रणनीतिमा छन् । 

यस्ता छन् उम्मेदवारका एजेन्डा

रास्वपा उम्मेदवार डा. तोसिमा कार्कीले आफू सांसद हुँदा ललितपुरमा खानेपानी, स्वास्थ्य बीमा लागु, ललितपुरमा भएको टिप्पर आतंकको जस्ता पक्षहरूमा काम गरेको भन्दै मतदाता फकाइरहेकी छिन्  । डा. कार्कीको कृषि क्षेत्रको व्यवसायीकरण र बिचौलियाको अन्त्य, स्वास्थ्यकर्मी सुरक्षाका सुनिश्चितता, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, औषधिको अधिकतम मूल्य निर्धारण र कडा निगरानी जस्ता पक्षहरू चुनावी एजेन्डा बनाएकी छिन् । 

फाइल तस्बिर

यहाँ नेपाली कांग्रेसबाट जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार छन्  । आफू भ्रष्टाचारमा नमुछिएको र स्थानीयस्तरमा भिजेको मान्छे भएकाले जनताले विश्वास गर्ने उनको दाबी छ । उनी क्षेत्र नम्बर ३ का स्थानीय बासिन्दा पनि हुन् । 

ललितपुरको सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पर्यटन र अर्थतन्त्रसँग जोड्ने, सार्वजनिक यातायातको उचित व्यवस्थापन, कान्ति लोकपथ र फास्ट ट्र्याक निर्माणका क्रममा मुआब्जा तथा सांस्कृतिक सम्पदामा परेको असरलाई सम्बोधन गर्ने उनको चुनावी एजेन्डा रहेको छ । 

नेकपा एमालेबाट सन्दन थापामगर प्रतिस्पर्धामा छन् । थापामगर २०५९ सालमा अनेरास्ववियूको संगठित सदस्य तथा २०६५ सालमा पाटन संयुक्त क्याम्पस स्ववियु सदस्य एवं २०६९ मा पाटन क्याम्पस स्ववियू सभापतिको उम्मेदवार र लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष हुनुका साथै महानगर वडा नम्बर २ को जिल्ला इन्चार्जसमेत भइसकेका छन् । उनी ललितपुरमा लामो समयदेखि सामाजिक काममा सक्रिय छन् । जसका कारण आफू जित्ने उनको दाबी छ । 

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजकाजी महर्जन पनि मैदानमा छन् । महर्जन २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी २०७४ र २०७९ को चुनावमा प्रदेश झरेका थिए । 

यता, राप्रपाबाट सविनकुमार खड्का प्रतिस्पर्धामा छन् । उनले २०७९ को आमनिर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नं. २ (क) बाट बागमती प्रदेश सभा सदस्यका लागि राप्रपाबाट उम्मेदवारी बनेका थिए । उनलाई स्थानीय स्तरमा सनातन मूल्य–मान्यताको रक्षा, सुशासन र युवा सशक्तीकरणका लागि आवाज उठाउने स्पष्ट वक्ताका रूपमा चिनिन्छ ।

ललितपुर–३ मा २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जित हात पारेको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले जितेको थियो । २०६४ सालमा ललितपुर–३ बाट पम्फा भुसालसहित जिल्लाका तीनै क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै क्षेत्रमा कांग्रेसले जितेको थियो । त्यसपछि कांग्रेसले क्षेत्र नम्बर ३ मा नतिजा दोहो¥याउन सकेको छैन । २०७४ मा भने ललितपुर–३ मा पुनः पम्फा भुसालले जितेकी थिइन् । 

। 

प्रतिनिधिसभा निर्वाचनको इतिहास हेर्ने हो भने समग्र ललितपुर कम्युनिस्ट पार्टीको बलियो गढ मानिन्छ । २०४८ मा संयुक्त जनमोर्चा नेपालले जितेको यस क्षेत्रमा पछि २०५६ सम्म नेकपा एमालेले जितेको थियो । त्यसपछि यो क्षेत्रमा एमालेको जितमा ब्रेक लाग्यो । 

२०४८ पछि ललितपुर–३ मा एकपटक मात्रै नेपाली कांग्रेसले जित हासिल गरेको छ । २०७० को निर्वाचनमा नेपाली कांग्रेसबाट मदनबहादुर अमात्य २३ हजार ५ सय ६६ मतका साथ विजयी भएका थिए । उनलाई पछ्याएका नेकपा एमालेका रघुजी पन्तले १२ हजार ३ सय ८ पाएका थिए । त्यस्तै नेकपा (माओवादी) का दिनेश महर्जनले ११ हजार ४ सय ४१ मत प्राप्त गरी तेस्रो स्थानमा थिए । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी)बाट पम्फा भुसाल २४ हजार ३६ मतका साथ विजयी भएकी थिइन् भने नेपाली कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३ सय २८ मत पाएका थिए । 

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट रास्वपाकी पूर्वसांसद तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की विजयी भएकी थिइन् । त्यसबेला ललितपुर–३ मा ९४ हजार ३ सय ४७ मतदातामध्ये ६० हजार ३ सय ६५ मत खसेको थियो । तोसिमाले ३१ हजार १ सय ३६ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७ सय ६९ मत प्राप्त गरेकी थिइन् । 

समानुपातिकतर्फ १६ हजार ६ सय ५० मत पाएर रास्वपा पहिलो स्थानमा रहेको थियो । नेकपा एमाले १२ हजार २ सय ९७ मत पाएर दोस्रो स्थानमा थियो । राप्रपाले ८ हजार ७ सय ८९ मतसहित तेस्रो स्थान पाएको थियो । चौथोमा नेपाली कांग्रेसले समानुपातिकतर्फ ८ हजार २ सय ४७ मत र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ६ हजार ५ सय ३१ मत प्राप्त गरेको थियो । 

स्थानीय तहमा पुरानै दलको रजगज

क्षेत्र नम्बर ३ अन्तर्गत ललितपुर महानगरपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन नेपाली ४२ हजार ७ सय २२ मत ल्याएर नगर प्रमुख विजयी भएका थिए । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत ल्याएर हार बेहोर्नु परेको थियो ।  

उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य २५ हजार ८४ मतका साथ विजयी भएकी थिइन् भने नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले १८ हजार ७ सय ५२ मत ल्याएका थिए ।  

गोदावरी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट गजेन्द्र महर्जन १९ हजार १ सय ७० मतले विजयी भएका थिए भने नेकपा एमालेका गम्भीरबहादुर राना १५ हजार २ सय ३२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसकी मुना अधिकारी १८ हजार ५ सय २६ मत पाएर विजयी भएकी थिइन् भने नेकपा एमालेकी रमी प्रधानांग १४ हजार ३ सय ५ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी भएकी थिइन् । 

२०७९ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६ सय ६१ मत पाएर विजयी भएका थिए भने नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकार ४ सय २५ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए । २ नम्बर वडामा नेकपा (एकीकृत समाजवादी)का राजेशकुमार महर्जन १ हजार ८ सय ३० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका पुरुषोत्तम थापाले ६ सय ४ मतमा चित्त बुझाउनु परेको थियो । 

वडा नम्बर ३ मा तत्कालीन एकीकृत समाजवादीका श्रीगोपाल महर्जन १ हजार ५ सय २५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका  बालकृष्ण महर्जन ८ सय ४२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।

यस्तै, ४ नम्बर वडामा नेपाली कांग्रेसका सन्तोष खड्काले १ हजार ५ सय ६२ मतले विजयी हुँदा एमालेका  नारायण केसी १ हजार ३ सय ६९ मतका साथ दोस्रो भएका थिए । 

वडा नम्बर ५ मा एमालेका विकासमान श्रेष्ठ १ हजार ७९ मत पाएर विजयी हुँदा कांग्रेसका सञ्जीव पाण्डे ५ सय ९२ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए । 

१० नम्बर वडामा नेपाली कांग्रेसका रविनमान व्यञ्जनकार ८ सय २५ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारले ५ सय ४३ मत ल्याएर दोस्रो भएका थिए ।

१३ नम्बर वडामा स्वतन्त्र उम्मेदवार गणेश केसीले ८ सय ६८ मत ल्याएर विजयको माला पहि¥याउँदा एमालेका निरन केसीले ६ सय ८९ प्राप्त गरी दोस्रो भएका थिए । 

१४ नम्बर वडामा नेपाली कांग्रेसका अमृतजंग महत १ हजार २ सय ८१ मत पाएर विजयी हुँदा भने एमालेका नौराज राईले ९ सय ७० मत प्राप्त गरेका थिए ।

१५ नम्बर वडामा एमालेका सुरेशबहादुर शाही १ हजार ६६ मत पाएर विजयी हुँदा एकीकृत समाजवादीका सुदर्शन मिश्रले १ हजार ३३ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।  

१८ नम्बर वडामा एमालेका दामोदर खड्का ८ सय ९१ मत ल्याएर विजयी हुँदा कांग्रेसका पुष्कर केसी ७ सय ४ मतसहित दोस्रो भएका थिए । 

वडा नम्बर २० मा नेपाली कांग्रेसका चन्द्रलाल महर्जन १ हजार ३ सय १५ मतले निर्वाचित हुँदा माओवादी केन्द्रका धनबहादुर महर्जन १ हजार १ सय ८३ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनेका थिए । २१ नम्बर वडामा माओवादी केन्द्रका रवीन्द्र महर्जन १ हजार १ सय ९९ मतका साथ विजय हुँदा एमालेका ज्ञानभक्त डंगोल १ हजार १ सय ८० मतसहित दोस्रो भएका थिए ।

२२ नम्बर वडामा एमालेबाट सागर तुलाधर १ हजार ४ सय ७७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका रविकुमार महर्जनले ८ सय ५९ मत पाएर दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । 

२३ नम्बर वडामा  एमालेका जीवन महर्जन १ हजार ४३ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका सुन्दरकृष्ण महर्जन ५ सय २३ मतसहित दोस्रो भएका थिए ।  

वडा नम्बर २४ मा एमालेका दिनेशजंग पाण्डे १ हजार ६७ मतले विजयी हुँदा नेपाली कांग्रेसका श्यामहरि महर्जन ८ सय ९७ मत ल्याएर दोस्रो भएका थिए ।

वडा नम्बर २५ मा एमालेका दौलतकुमार खत्री ९ सय ८७ मतले निर्वाचित हुँदा कांग्रेसका राजेन्द्र केसीले ८ सय ४० मत पाएका थिए । वडा नम्बर २६ मा माओवादी केन्द्रका सुरेश महर्जन ७ सय ३ मतसहित विजयी हुँदा एमालेका जितमेल महर्जनले ३ सय ९९ मत पाएर दोस्रो भएका थिए ।

वडा नम्बर २७ मा माओवादी केन्द्रका कृष्णहरि महर्जन ७ सय ५१ मत पाएर विजयी हुँदा एमालेका बद्रीबहादुर महर्जन ५ सय १३ मतसहित दोस्रो भएका थिए ।  

२८ नम्बर वडामा नेपाली कांग्रेसका वीरेन्द्र महर्जन ८ सय १४ मत पाएर विजयी हुँदा एमालेका राजेश महर्जनले ५ सय ४ मत पाएका थिए ।

वडा नम्बर २९ मा एमालेका गणेशकुमार महर्जनले ४ सय ५४ मतका साथ विजयी हुँदा कांग्रेसका अमृतबहादुर महर्जनले ३ सय ९४ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?