काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को एकल वर्चस्व रहे पनि यसपटक विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारले यसलाई चुनौती दिँदै गरेको विश्लेषण हुन थालेको छ । नेमकिपालाई हराउनेसम्मको नभई टकराब दिनेसम्मको विश्लेषण यहाँ हुन थालेको छ । २०७९ सालको निर्वाचनमा यहाँ नेमकिपाका उम्मेदवार प्रेम सुवाल झन्डै ३१ हजार मतान्तरले विजयी भएका थिए ।
भक्तपुरको यो क्षेत्रमा पहिलाको तुलनामा भौतिक पूर्वाधारमा राम्रो प्रगति भएको छ । पहिलेजस्तो डोकोमा पानी बोकेर हिँड्नुपर्ने अवस्था छैन । बिजुली, खानेपानी र सडक निर्माणमा राम्रो भएको छ । तर भ्रष्टाचार र सेवा प्रवाहमा जनताले खोजेजस्तो सार्वजनिक सेवा प्रवाह हुन नसकेको मतदाताहरूको भनाइ छ ।
यी सकारात्मक र नकारात्मक टिप्पणीका बीच तीन–तीन पटक एउटै उम्मेदवार उठाएको, कतिपय ठाउँमा अझै सडक कालोपत्रे नभएको, स्वच्छ खानेपानीको अभाव, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा पर्याप्त ध्यान नदिएको जस्ता कारण देखाउँदै नेमकिपाप्रति मतदाता रुष्ट पनि छन् । कतिपय मतदाता नेमकिपाले विकास निर्माणमा पर्याप्त ध्यान नदिएको, रोजगारीको अवसर सिर्जना नगरेको भन्दै नेमकिपाका निर्वाचित जनप्रतिनिधिप्रति रुष्ट पनि सुनिन्छन् ।
भौगोलिक क्षेत्रका हिसाबले भक्तपुर–१ निर्वाचन क्षेत्रअन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका सबै वडा पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ । गत २०७९ सालको स्थानीय तहको निर्वाचनबाट भक्तपुर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको छ । यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले वडा नम्बर ९ को वडाध्यक्ष मात्रै जितेको छ । अरू वडामा भने नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष निर्वाचित भएका छन् ।
यो निर्वाचन क्षेत्रमा नेमकिपाका प्रेम सुवाल प्रतिनिधिसभा सदस्यका लागि पुनः उम्मेदवार बनेका छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले २०७४ सालमा राजनीतिमा पुस्तान्तरण गर्ने घोषणा गर्दै उम्मेदवारी नदिएपछि सो पार्टीबाट उम्मेदवार बनेका सुवालले निरन्तर प्रतिनिधिसभा सदस्य निर्वाचन जित्दै आएका छन् ।
यो क्षेत्रमा २०३८ सालदेखि २०७० सालसम्मको पाँच वटा निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएको इतिहास छ । त्यसपछि २०७४ र २०७९ सालमा भएका निर्वाचनमा सोही पार्टीका नेता सुवाल निर्वाचित हुँदै आएका छन् ।
के भन्छन् मतदाता ?
‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपालि मतदान गरिँदैन,’ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ चाँगुनारायण नगरपालिका–१ की १९ वर्षीया मोनिका रोक्काले भनिन्, ‘म पहिलो पटक मतदान गर्दैछु, दुःख, सुखमा सहयोग गर्ने र यहाँको विकासमा ध्यान दिनेलाई भोट दिने हो, जनप्रतिनिधि भनेको जनताकै माझमा र मनमा बस्न सक्नुपर्छ ।’
मोनिकाजस्तै भक्तपुर निवासी केशव पराजुलीलाई पनि समस्या परेका बेलामा सहजीकरण गर्ने र चुनावमा मात्र नभएर अरू बेला पनि यहाँका नागरिकमाझ रहने जनप्रतिनिधि चाहिन्छ भन्ने लाग्छ ।
‘चुनावमा मात्रै भोट माग्न आउने, अनि अरू बेला वास्तै नगर्ने उम्मेदवारलाई भेट दिएर के गर्नु ?,’ पराजुलीले भने, ‘नागरिकका समस्यामा साथ दिने जनप्रतिनिधि चाहिन्छ ।’
को को छन् उम्मेदवार ?
आसन्न निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल बढिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा १६ राजनीतिक दल र ९ जना स्वतन्त्र उम्मेदवार गरी कुल २५ उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका छन् ।
यो क्षेत्रबाट नेमकिपाका प्रेम सुवालका अलावा नेकपा एमालेबाट सोमप्रसाद मिश्र, नेपाली कांग्रेसका किरण न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रञ्जित, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट ईश्वरीप्रसाद पैयानीले प्रतिस्पर्धा गर्दै छन् । त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रवि खाइजु, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीबाट दीपककुमार पोखरेल, श्रम संस्कृति पार्टीबाट विष्णुहरि न्हिसुतु, मितेरी पार्टी नेपालबाट सावित्री न्यौपाने, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) चन्द्रमान कोजु, उज्यालो पार्टी नेपालबाट रमेश बल्ल, आम जनता पार्टी एकल चुनाव चिह्न) बाट देवेन्द्र ठाकुर रहेका छन् ।
साथै, स्वतन्त्र उम्मेदवारहरूमा दशरथ थापा, पुण्यराम सुवाल, बालकृष्ण खाइतु, राज श्रेष्ठ, राजेश्वरी प्रजापति, विष्णुराम दुमरु, सुजीता बुढाथोकी, सुदीप न्यौपाने र सुरेश कोजु रहेका छन् । आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरू मतदाताको घरघर पुगेर मत मागिरहेका छन् ।
के भन्छन् प्रमुख दलका उम्मेदवारहरू ?
नेमकिपाका उम्मेदवार सुवाल यो क्षेत्र आफूहरूको गढ भएको भन्दै निर्वाचन सहजै निर्वाचन जित्ने ठोकुवा गर्छन् । भक्तपुरका जनताको खुसी नै आफूहरू भएको उनको ठोकुवा छ । ‘भक्तपुरका जनताको खुसी हाम्रो मुख्य चुनावी एजेन्डा हो,’ नेमकिपा उम्मेदवार सुवाल भन्छन्, ‘मेरो उम्मेदवारी यहाँका जनताको साथ र विकास निर्माणका लागि हो ।’
यो क्षेत्रमा एमालेबाट उठेका छन्, सोमप्रसाद मिश्र । उनलाई नेमकिपालाई चुनौती दिन मन छ । “हिलोमा नपसी कमलको फूल फुल्दैन, म चुनौती लिन तयार छु, म आफूलाई पनि मतदाताबीच परीक्षण गराउन चाहन्छु,’ नेता मिश्र भन्छन्, ‘मुलुकमा प्रणाली परिवर्तन भयो तर भ्रष्टाचार नियन्त्रण र सुशासनमा फरक आउन सकेन, गल्तीहरू सच्याएर जाँदा सुशासन, भ्रष्टाचार नियन्त्रणका साथै प्रशासनिक क्षेत्रमा पुनर्संरचना गर्नुपर्ने हुन्छ, त्यो प्रयास म गर्नेछु । नेपालमा लोकतन्त्र आए पनि प्रशासनिक काम कारबाहीमा सुधार भएको छैन, यसमा दलहरूको ध्यान जान जरुरी छ, राजनीतिमा पुस्तान्तरण हुन पनि जरुरी छ ।’ उनी जनताले आफूलाई मत दिनेमा आशावादी छन् ।
नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेको पनि सो क्षेत्रको विकास निर्माण र पूर्वाधार विकासमा मुख्य प्राथमिकता छ । ‘२०७२ को भूकम्पका कारण चार–पाँच सय घरधुरी पालमुनि बस्न बाध्य छन्, अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन,’ उनले भने, ‘प्लानिङका नाममा जग्गा रोक्का राखिएको छ, जनताले धेरै दुःख पाएका छन्, त्यसकारण पनि फरक उम्मेदवारलाई जिताउन जरुरी छ ।’
उनी पहिलोपटक उम्मेदवार बनेका हुन् । आफूलाई मतदाताले भारी मत दिने विश्वासमा उनी ढुक्क छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित पनि आफ्नो पक्षमा मत पार्न निकै मेहनत गरिरहेका छन् । ‘रास्वपाको मुख्य एजेन्डा सुशासन, भ्रष्टाचाररहित समाज निर्माण हो,’ उनले भने, ‘भक्तपुरको विकासका लागि मैले ध्यान केन्द्रित गर्नेछु ।’
कति छन् मतदाता ?
सो क्षेत्रका निर्वाचन कार्यालय प्रमुख प्रकाश मगरका अनुसार यहाँका कूल मतदाता १ लाख ७ हजार ५४ छन् । त्यसमध्ये पुरुष मतदाता ५२ हजार ६६ (४८.६४ प्रतिशत), महिला मतदाता ५४ हजार ९ सय ८८ (५१.३६ प्रतिशत) छन् । समावेशीको आधारमा हेर्दा खस, आर्य ६८ प्रतिशत, आदिवासी/जनजाति २८ प्रतिशत र चार प्रतिशत मधेसी रहेका छन् । सो निर्वाचन क्षेत्रमा १ सय १९ मतदान केन्द्र छन् । यहाँ राजनीतिक दलका उम्मेदवार १६ र स्वतन्त्र नौमध्ये पुरुष २२ र महिला ३ जना छन् ।
भक्तपुर – १ प्रत्यक्ष निर्वाचन २०७९
२०७९ सालको प्रतिनिधिसभा सदस्य नेमकिपाका प्रेम सुवालले ४२ हजार ७ सय ६१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ६८ मत प्राप्त गरेका थिए । निर्वाचित सुवालको मतान्तर ३० हजार ७ सय ९३ रहेको थियो । राप्रपाका भरतबहादुर खड्का ९ हजार ३ सय ३ मतसहित तेस्रो भएका थिए । तत्कालीन माओवादी केन्द्रका सुनील गोठेले ५ हजार २ सय ८३ मत प्राप्त गरेका थिए ।
भक्तपुर – १ समानुपातिक निर्वाचन २०७९
त्यसैगरी सो क्षेत्रको समानुपातिक मतमा नेमकिपाले ३३ हजार ८ सय ५१ मत प्राप्त गरेको थियो । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ३ सय १० मत प्राप्त गरेकामा नेपाली कांग्रेसले ८ हजार ९ सय ४७ मत ल्याएको थियो ।
त्यसैगरी नेकपा एमालेले ८ हजार २५१ मत, ५ हजार ९ सय ४७ र माओवादी केन्द्रले १ हजार ४ सय ४ मत प्राप्त गरेको थियो । अन्य दलको समानुपातिक मत १ हजार भन्दा कम रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया