काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १ महिला र १ पुरुष विदेशी नागरिकको उपचारको क्रममा मृत्यु भएको हो । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

सो दुर्घटनामा दुई जना विदेशी नागरिकको मृत्यु भएकोमा एक जना STEWART DOMINICETHAN जनाइएको छ । उनी युनाइटेड किङ्डमको रहेको पाइएको छ ।
आइतबार साँझ ७ बजे ३४ यात्रु लिएर पोखराबाट काठमाडौंका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको थियो । सो बसमा चालक र दुई जना बसका कर्मचारीसहित ३७ जना थिए । तर बाटोमा थप यात्रु चढाइएको जनाइएको छ ।
सशस्त्र प्रहरीले सो बसमा कुल ४५ जना यात्रारत रहेको जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ। एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ।
पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठको मृत्यु भएको हो।
अन्य मृतकको पहिचान खुलिसकेको छैन।
दुर्घटनामा घाइते २५ जनालाई काठमाडौं ल्याएर उपचार भइरहेको जनाइएको छ । तीमध्ये १५ जनालाई ट्रमा सेन्टर र १० जनालाई कलंकीस्थित नेसनल अस्पतालमा भर्ना गरिएको छ । ट्रमा सेन्टरमा उपचारका क्रममा करिब ३२ वर्षीय एक अज्ञात पुरुषको मृत्यु भएको छ । त्यहाँ हाल १४ जना घाइते उपचाररत छन् ।
उपचार भइरहेकामध्ये २२ वर्षीया चिनियाँ नागरिक मिसि हाउ, काठमाडौं बौद्धकी ४८ वर्षीया ऐन्जि शेर्पा, तनहुँ–म्याग्दीका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय विपिन मानन्धर, गोकर्णकी २८ वर्षीया पूजा फुयाँल, स्याङ्जा फेदिखोलाका २६ वर्षीय सचिन्द्र सुनार, कास्की लेखनाथका प्रदीप लामिछाने, बौद्धका नोर्बु पाल्देन, कपनकी शोर्णिमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँ–म्याग्दी गाउँपालिकाका ४४ वर्षीय मानबहादुर थापा, बौद्ध बस्ने ४८ वर्षीया लंसाङ्गोले लामा, तनहुँ शुक्लागण्डकी–१२ की १९ वर्षीया सदिच्छा हमाल र झापाका ४० वर्षीय कृतिराज मानन्धर रहेका छन् ।

यस्तै, नेशनल अस्पतालमा उपचाररत घाइतेहरूमा सीतापाइलाका ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्ते गाउँपालिका–४ का १८ वर्षीय सुबिन मल्ल, कास्की लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, देविनगरका २३ वर्षीय चन्द्रआशीष फुयाँल, बालाजुका १९ वर्षीय संगम मल्ल, कास्की चिसुवाकी ३९ वर्षीया प्रमीला भट्टराई, स्याङ्जा फेदिखोला–४ का ६४ वर्षीय डम्मरबहादुर बिक, कलंकीका २५ वर्षीय कृष्ण तिवारी, कास्की–३२ का २० वर्षीय सुनम गुरुङ र धादिङ धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । रातिको समय, सडकको अवस्था तथा सम्भावित तीव्र गति जस्ता पक्षहरूलाई समेत ध्यानमा राखेर छानबिन अघि बढाइएको जनाइएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईका अनुसार, सो बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए ।
सो बसको चालक सुजित नेपाली रहेको र उनको अवस्था पनि हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया