कामबाट निकालेको भन्दै सिन्धुलीमा स्थानीय र चिनियाँ कामदारबीच झडप, घाइते लिन हेलिकोप्टर जाँदै

लोकपथ
602
Shares

काठमाडौं । मरिन गाउँपालिका–४ साहानमा चीन निर्यातका लागि राँगाको मासु प्रशोधन गर्ने उद्देश्यले निर्माण भइरहेको उद्योग परिसरमा स्थानीय कामदार र चिनियाँ कामदारबीच झडप भएको छ ।

सोमबार हिमालयन फुड कम्पनीले निर्माण गरिरहेको उद्योग क्षेत्रमा चिनियाँ कामदार र स्थानीय कामदारबीच भएको झडपमा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

कम्पनीमा कार्यरत हलुका सवारी चालक मरिन गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालेको विषयमा विवाद हुँदा झडप भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार झडपमा पाँच जना चिनियाँ कामदार र २ जना स्थानीय कामदार घाइते भएका छन् । झडपमा परी घाइते हुनेहरूमा सवारी चालक नवराज बम्जन, उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवाल, चीन घर भई हाल हिमालयन फुड कम्पनीमा काम गर्ने ३८ वर्षीय मिस्टर याङ, ४५ वर्षीय याङ हाइबो, ४० वर्षीय छ्याङ छोङ, ३१ वर्षीय लेउसेन्सी र ४६ वर्षीय चुजेन घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । 

घाइतेहरूको मरिन सामुदायिक अस्पताल कपिलाकोट र मरिन सामुदायिक कम्युनिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्येका बम्जनलाई थप उपचारका लागि सिन्धुली अस्पतालमा रिफर गरिएको छ । 

घाइतेमध्ये केहीलाई हेलिकोप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको स्थानीय पत्रकार प्रेमनाथ मैनालीले बताएका छन् । झडपमा कति घाइते भए अझै यकिन हुन नसकेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?