गौरको हट्यो, वीरगञ्जमा बिहान पौने १० बजेदेखि कर्फ्यु

लोकपथ
119
Shares

वीरगञ्ज । हिजो आइतबार साँझ युवा समूहबीच भएको झडपलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

जारी सूचनाअनुसार, पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, कर्फ्यु लगाइएको चार किल्लाभित्र आवत जावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।  तर अत्यावश्यक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरू, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरू, पर्यटक सवार गाडीहरू र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरूलाई पनि सञ्चालन अनुमति दिइएको छ ।

साथै हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उता, रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु भने हटेको छ । नागरिक समाजको अगुवाइमा गौर–६ सबगढामा शान्ति सद्भाव ¥याली निकालिएसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश हटाएको हो । कर्फ्यु हटेलगत्तै गौरको जनजीवन सामान्य बनेको छ । 

विवाहको बाजालाई लिएर भएको झडपले उग्ररूप लिएपछि रौतहट प्रशासनले शनिबारदेखि गौरमा कर्फ्यु आदेश जारी गरेको थियो । झडपको सुरुवात भएको क्षेत्रमा सद्भाव ¥याली निकालेसँगै सोमबार बिहानदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।  

सबगढाको मुख्य सडकबाट सुरु भएको ¥यालीले सबगढा गाउँ परिक्रमा गरेको थियो । गाउँमा शान्ति कायम राख्न नागरिक समाजका अगुवासहित राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको ¥याली निकालिएको प्रजिअ भुसालले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?