काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २८ घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । ४५ यात्रु रहेको सो बस सडकबाट तीन सय मिटर तल खसेको जनाइएको छ ।
हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २८* जना रहेकाे समेत प्रवक्ता भट्टले बताए ।

दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
सो स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४५ जना यात्रुहरू रहेको र उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरू ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया