काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षण गर्न आउने संस्था तथा व्यक्तिहरूले निहित स्वार्थपूर्तिका गतिविधि गर्नसक्ने बताएका छन् ।
आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोगबाट अनुमति लिएर पर्यवेक्षणमा खटिएका व्यक्तिहरूको गतिविधिमाथि निगरानी राखिदिन सञ्चारमाध्यमलाई आग्रह गरे ।
उनकाअनुसार आगामी निर्वाचनमा विदेशी तथा स्वदेशी दुवै संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । विदेशी संस्थाबाट उच्च पदस्थ व्यक्तिहरू, विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरू समेत नेपाल आउने जानकारी उनले दिए ।
उच्च पदस्थ व्यक्तिबाट अनुचित गतिविधि नहुने विश्वास व्यक्त गर्दै उनले अन्य व्यक्तिहरूप्रति भने सचेत रहनुपर्नेमा जोड दिए । उनका अनुसार केही व्यक्तिहरूले पर्यवेक्षणको नाममा मतदान स्थलमा पुगेर मतदान अधिकृतसँग अनावश्यक प्रश्न सोध्ने, मतदान प्रक्रियामा क्षणिक अवरोध सिर्जना गर्ने वा निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्नसक्ने सम्भावना रहन्छ ।
यदि कसैले पर्यवेक्षणका नाममा मतदान प्रक्रियामा असर पार्ने प्रयास गरेको देखिएमा तत्काल समाचार संप्रेषण गरिदिन उनले सञ्चारकर्मीहरूलाई आग्रह गरे । विगतका निर्वाचनमा केही विदेशी संघ–संस्थाले पर्यवेक्षणको आवरणमा मतदातालाई विशेष चुनाव चिह्नमा मतदान गर्न वा नगर्न प्रचार गरेको तीतो अनुभव रहेको पनि उनले स्मरण गराए ।
कार्यवाहक प्रमुख भण्डारीले फागुन २१ गते हुने निर्वाचन नियमित आवधिक निर्वाचनभन्दा फरक प्रकृतिको रहेको उल्लेख गर्दै ट्रयाक बाहिर गएको संविधानलाई सही मार्गमा ल्याउन यस निर्वाचनको महत्त्वपूर्ण भूमिका रहने बताए । त्यसका लागि स्वच्छ, भयरहित र स्वतन्त्र वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
उनले आगामी निर्वाचनप्रति नागरिकहरू उत्सुक रहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया