ट्याक्टरले किचेर मजदुरको मृत्यु, चालक फरार

लोकपथ
105
Shares

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरको दुर्घटनामा परेर एक जना मजदुरको मृत्यु भएको छ ।

गएराति ना ५ त ७०८१ नम्बरको ट्याक्टरले किच्दा उत्तर–दक्षिण कोशी राजमार्ग निर्माण कार्यमा संलग्न मजदुर नेललाल तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार गुडिरहेको ट्याक्टरबाट खस्दा पछाडिको टायरले किचेर तामाङको मृत्यु भएको हो।

मृतक तामाङ उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकखण्डमा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सिन्धुली घर भई हाल सङ्खुवासभामा बस्दै आएका ट्याक्टर चालक फरार रहेका छन् । 

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले उक्त ट्याक्टर मकालु गाउँपालिका–५ स्थित नुम बजारमा पार्किङ अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको नुम प्रहरी चौकीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट करिब १५ किलोमिटर टाढा रहेको छ ।

मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ भने फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?