कास्की क्षेत्र नं.२ : मतदाताको प्राथमिकतामा कृषि र पर्यटन

लोकपथ
49
Shares

 गण्डकी । कास्की जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि कृषि र पर्यटन प्रमुख चुनावी मुद्दाका रूपमा अघि आएका छन् । भौगोलिक पुनर्संरचनासँगै पटक–पटक सीमाना फेरिँदै आएको यस क्षेत्र विकासका दृष्टिले पछि परेको भन्दै स्थानीय मतदाताले असन्तुष्टि जनाउँदै आएका छन् ।

विसं २०७४ पछि पुनः कायम भएको कास्की क्षेत्र नं. २ हाल अघिल्लो क्षेत्र नं. ३ का अधिकांश वडा समेटेर बनाइएको हो । पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नं। वडा यस क्षेत्रमा पर्दछन्। महानगरका वडा भए पनि कतिपय स्थान अझै दुर्गमजस्तै रहेको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार चुनावका बेला विकास र समृद्धिका विषय उठ्ने गरे पनि कार्यान्वयन कमजोर हुँदै आएको छ । वडा नं. १६ हुँदै जाने मध्यपहाडी लोकमार्गको विवाद लामो समयदेखि समाधान हुन नसक्दा सडक निर्माण अवरुद्ध भएको स्थानीय अधिवक्ता हरिप्रसाद भट्टराईले बताए। जग्गा मुआब्जा विवादका कारण अदालतको अन्तरिम आदेशले काम रोकिएको उनको भनाइ छ ।

त्यसैगरी महेन्द्र गुफादेखि अर्मलाकोटसम्मको सडक कालोपत्रे, अर्मलाका बस्तीमा खानेपानी विस्तार, सुरौदी खोलाको कटान नियन्त्रण र सिँचाइ व्यवस्थापन पनि मतदाताका प्रमुख माग हुन् । सुरौदी खोलामा झोलुङ्गे पुल र टुनीखोला तथा कदमबोटे–कुर्लिङ क्षेत्रमा पक्की पुलको आवश्यकता स्थानीयले औँल्याएका छन् ।

यस क्षेत्रको समृद्धिका लागि कृषि र पर्यटनमा ठुलो सम्भावना रहेको स्थानीयको धारणा छ । कालीलेक क्षेत्रमा पाइने जडीबुटी, अर्मलाको कृषि उत्पादन, बागमारा क्षेत्रको कृषि पर्यटन, साथै चोकोडाँडा, हुडिकोट, बरपाण्डेथुमजस्ता स्थानको पर्यटकीय विकास गर्न सकिने बताइएको छ । सुरौदी क्षेत्रका कुर्लिङ बराह, भुलभुला बाराही र मल्लकालीन कोटभैरव मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्न सकिने सम्भावना देखिन्छ ।

कर त महानगरकै तिरे पनि सेवा–सुविधा नपाएको गुनासो गर्ने यहाँका मतदाताले आसन्न निर्वाचनमा उम्मेदवारसँग ठोस प्रतिबद्धता खोज्ने बताएका छन् ।

यस निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १२ राजनीतिक दल र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोला, नेकपा (एमाले) की रश्मि आचार्य, नेकपा का हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ्ग गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?