सर्लाहीमा मिटरब्याज पीडितमाथि कुटपिट, कार्यालय तोडफोड

लोकपथ
91
Shares

काठमाडौं । सर्लाहीमा मिटरब्याज पीडितहरुमाथि कुटपिट भएको छ । बिहीबार दिउँसो मंगलवास्थित जिल्ला अदालतलको छेवैमा रहेको मिटरब्याज पीडितहरुको कार्यालय समेत तोडफोड भएको पीडितहरुले बताएका छन् ।

पीडितहरुले राखेको कार्यालय तोडफोड र पीडितहरुमाथि कुटपिटमा साहु महाजन, अदालतका कर्मचारीहरु समेतको मिलेमतो रहेको पीडित तैयब मन्सूरले जानकारी दिए ।

‘मिटरब्याज पीडितहरुले जिल्ला अदालत सर्लाहीको साइडमा अफिस राख्नुभएको थियो । आज केही साहु महाजनको मान्छे, अदालतको कर्मचारी, वकिल र लेखन्दासहरुले तोडफोड गरेको छ । त्यहाँ मिटरब्याज पीडितहरुमाथि कुटपिट भएको छ र कपाल पनि लुछेको छ,’ मन्सूरले भने ।

त्यस्तै उक्त कार्यालयमा राखिएको ३ लाख भन्दा बढी रकम समेत लुटिएको उनले बताए । आफूहरुले जिल्ला प्रशासन कार्यालयदेखि प्रहरी कार्यालयसम्म धाउँदा समेत न्याय नपाएको उनको गुनासो रहेको छ ।

‘अफिसमा ३ लाख १० हजार राखेको थियो साहुलाई दिनलाई, त्यो पैसा पनि लुटेको छ । हामीहरु जिल्ला प्रहरी कार्यालयमा बसेका छौँ, हामीलाई अहिलेसम्म केही सुनुवाई गरिएको छैन,’ उनले भने ।

साहुहरुसँग आफूहरुले गरेको सहमती कार्यान्वयन समेत नभएको उनको आरोप रहेको छ । साथै आफूहरुलाई न्याय नभएमा शुक्रबारदेखि सबै ठाउँमा जाम गर्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?