पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्याणलाई २ वर्ष कैदको सिफारिस

१०० कित्ता सेयर लिएर संस्थापक सञ्चालक !

काठमाडौं । पियोर इनर्र्जी लिमिटेडका संस्थापक लगानीकर्ताका रूपमा रहेका गोल्यान समूहका पदाधिकारीलाई २ वर्ष कैदका लागि सिफारिस गरिएको छ । सीडीएस एन्ड क्लियरिङ हाउसले पियोर इनर्जीका पदाधिकारीलाई २ वर्षको कैद सजाय वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायका लागि सिफारिस गरेको हो ।

धितोपत्र अभौतिकीकरण गर्ने सम्बन्धमा भ्रामक सूचना सार्वजनिक गरेका कारण ६४ लाख कित्ता संस्थापक लगानीकर्ता रहेको कम्पनीले गलत र भ्रामक सूचना प्रकाशन गरी धितोपत्र बजारलाई प्रभावित बनाउन खोजेको भन्दै २ वर्ष कैद सजायसमेतकै माग गरिएको हो ।

सीडीएस एन्ड क्लियरिङ हाउसले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै पियोर इनर्र्जीका व्यवस्थापन र जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । सीडीएससीले गरेको सिफारिसमा जरिबाना गराउँदा जनताकै र सर्वसाधारण लगानीकर्ताको रकमबाटै तिर्ने हुनाले त्यसले लगानीकर्तालाई नोक्सान हुने भन्दै झूटा र भ्रामक सूचना प्रकाशित गर्ने जिम्मेवारी पदाधिकारीलाई २ वर्षसम्म कैद सजाय नै गर्न सिफारिस गरिएको छ ।

भएको के हो ?
पियोर इनर्र्जी लिमिटेडलाई आफ्ना सर्वसाधारण समूह र संस्थापक समूह गरी दुवै समूहको सेयर एउटै आईजीनमा अभौतिकीकरण गर्नका लागि सीडीएस एन्ड क्लियरिङ हाउसमा निवेदन दिएको थियो । सेयर अभौतिकीकरण गर्ने काम सीडीएस एन्ड क्लियरिङ हाउसले गर्ने भएकाले उसलाई निवेदन दिँदा कम्पनीले सर्वसाधारण र संस्थापक समूहको सेयरलाई एउटै आईजीनमा उल्लेख गरी अभौतिकीकरण गरिदिन माग गरिएको थियो ।

सीडीएस एन्ड क्लियरिङ हाउसले अहिले धितोपत्र अभौतिकीकरणसम्बन्धी निर्देशिका तयार पारी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ । तर उक्त निर्देशिका धितोपत्र बोर्डले करिब ७ महिनादेखि होल्ड गरेर राखिरहेको छ ।
उक्त निर्देशिकामा धितोपत्र अभौतिकीकरण गर्दा फरक फरक आईजीनबाट गर्ने र लक इन अवधि सकिएपछि साधारण सभाबाट पारित गराएर मात्रै सर्वसाधारण समूहमा परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । यद्यपि बोर्डले अहिलेसम्म त्यस सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

केही समय अगाडि आईपीओ निष्कासन गरेको पियोर इनर्र्जी लिमिटेडले ८० लाख कित्ता सेयरमध्ये १६ लाख कित्ता सेयर सर्वसाधारण समूहबाट बिक्री गरिसकेको छ । उक्त सेयरहरू यतिबेला सीडीएससीले अभौतिकीकरण गरी नेप्सेबाट कारोबारसमेत भइसकेको छ ।

पियोर इनर्जीको बाँकी रहेको ६४ लाख कित्ता भने सीडीएससीले अभौतिकीकरण गरिदिएको छैन । कम्पनीले सुरुमै दुईवटा आईजीन हुने गरी सीडीएससीमा निवेदन दिएका कारण फरक फरक आईजीनमा अभौतिकीकरण गरिदिने भनी सोहीअनुसारको निवेदन पठाउन भनेको थियो । तर पियोर इनर्र्जी प्रालिले भने पटक पटक सर्वसाधारण समूहकै आईजीनमा संस्थापक समूहको सेयरसमेत मिसाउने गरी निवेदन दिएको पाइएको छ । तर सीडीएससीले उसको निवेदन पटक-पटक अस्वीकार गरेको पाइएको छ ।

पछि बिजखबर लगायतका सञ्चार माध्यममा पियोर इनर्र्जीले संस्थापक सेयर पनि सर्वसाधारण समूहमा मिसाउने गरी निवेदन दिएको समाचार सार्वजनिक भएपछि पियोर इनर्र्जी प्रालिले खण्डन निकालेर आफूले एउटै आईजीन माग गरेको भान हुने गरी समाचार प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको थियो ।

तर पियोर इनर्र्जीले आफूले एउटै आईजीनको माग नगरेको दाबी गर्दै खण्डन निकालेपछि पनि उसले सीडीएससीलाई पत्र लेख्दै एउटै आईजीन नम्बर उपलब्ध गराउन माग गरेको पाइएको छ ।

पियोर इनर्र्जीले खण्डन निकालेपछि सीडीएससीमा दिएको निवेदनमा समेत सर्वसाधारण समूहकै आईजीनमा तीन दिनभित्र अभौतिकीकरण गरिदिन भनिएको छ ।

हेर्नुहोस् पत्र

यता सीडीएससीमा एउटै आईजीन नम्बरमा संस्थापक सेयरलाई पनि सर्वसाधारण सेयरमा अभौतिकीकरण गरिदिन माग गर्ने तर बाहिर आफूहरूले एउटै आईजीन नम्बरको माग नगरेको भन्दै खण्डन प्रकाशन गरी सर्वसाधारण लगानीकर्तालाई भ्रममा राख्न खोजिएको र धितोपत्र बजारलाई प्रभावित पार्न खोजेको भन्दै सीडीएससीले यसका सञ्चालकलाई २ वर्षको कैद सजाय गर्न धितोपत्र बोर्डलाई सिफारिस गरी अदालतमा मुद्दा चलाउन भनिएको छ ।

हेर्नुहोस् जेल सजायका लागि गरिएको सिफारिस पत्र

कसलाई हुन्छ कारबाही ?
पियोर इनर्र्जी लिमिटेडमा अधिकांश संस्थापक सेयर गोल्यान समूह र उनका संगठित संस्थाहरूको रहेको छ । पियोर इनर्र्जीमा रहेको कुल ८० लाख कित्तामध्ये ६४ लाख कित्ता संस्थापक सेयर रहेकामा अक्षय गोल्याणको नाममा मात्रै ४० लाख ९९ हजार ५ सय कित्ता सेयर रहेको छ । त्यो भनेको ५१ प्रतिशत भन्दा बढी सेयर अक्षय गोल्याणको नाममा रहेको छ ।
पियोर इनर्र्जीले सार्वजनिक गरेको वार्षिक विवरणमा शक्तिकुमार गोल्याणको नाममा १ सय कित्ता र शुरभी गोल्याणको नाममा पनि १ सय कित्ता सेयर रहेको देखिन्छ । त्यसैगरी निशान्त गोयल र मयंक रोहिल्ला पनि पियोर इनर्र्जीमा लगानी गर्ने कम्पनीको प्रतिनिधिका रूपमा रहेकामा यी पाँच जना संस्थापक सञ्चालक रहेका छन् ।

कम्पनीको अध्यक्ष अक्षय गोल्याण रहेकाले धितोपत्र बोर्डले कारबाही गर्दा वा मुद्दा चलाउँदा अध्यक्ष अक्षय गोल्याणसहितका पदाधिकारीलाई मुद्दा चलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा अक्षय गोल्याणलाई २ वर्ष कैद सजाय पनि हुन सक्नेछ ।

किन एउटै आईजीन चाहन्छ पियोर इनर्र्जी ?
अहिले नै एउटै आईजीन प्राप्त हुँदा सामान्य हिसाबले हेर्दा बैंकबाट ऋण लिन गोल्यान समूहलाई सहज हुन्छ । किनभने अहिले एउटै आईजीन प्राप्त भएको अवस्थामा पियोर इनर्र्जीको सेयर अहिले (२०८२ माघ १२ गते, समाचार तयार पार्ने क्रममा) १ हजार १ सय ९२ रुपैयाँ प्रतिकित्ता रहेको छ । यस्तो अवस्थामा यसको ७० प्रतिशतसम्म ऋण प्राप्त हुँदा गोल्यान समूहलाई वा यसका अध्यक्ष अक्षय गोल्याणलाई अहिले नै बैंकबाट ३ अर्ब ४२ करोड रुपैयाँ ऋण प्राप्त हुन सक्छ ।

अब उनले गरेको लगानी हेर्ने हो भने ४० लाख ९९ हजार ५ सय कित्ताका लागि ४० करोड ९९ लाख ५० हजार रुपैयाँ मात्रै हो । यसको आधारमा उनले तत्कालै बैंकबाट ऋण लिँदा पनि आफूले गरेको लगानीको कम्तीमा ८ गुणा ऋण प्राप्त गर्न सक्छन् । फेरि यही ऋण लिएर अर्को कम्पनी खोल्दै फेरि आईपीओमा जाने बाटो बन्दै जान्छ । यस्तो अवस्थामा गोल्यान समूहले यसअघि गर्दै आएको आईपीओको व्यापारलाई बढावा दिन सजिलो हुन्छ र उद्योग भन्दा बढी आईपीओको व्यापार गर्न पाउँछ ।

कति छ प्रतिसेयर आम्दानी ?
पियोर इनर्र्जीले सार्वजनिक गरेको वित्तीय विवरण आर्थिक वर्ष २०८०।०८१ मा उसको प्रतिसेयर आम्दानी माइनस ३ रुपैयाँ २ पैसा थियो । अर्थात् कम्पनी प्रतिसेयर ३ रुपैयाँ २ पैसा घाटामा थियो । गत आर्थिक वर्षमा पनि पियोर इनर्र्जीको प्रतिसेयर आम्दानी केवल ४ रुपैयाँ ७० पैसा रहेको छ । मतलब प्रतिकित्ता १०० रुपैयाँको दरले सेयरले दिने प्रतिफल भनेको केवल ४ रुपैयाँ ७० पसा मात्रै हो ।

प्रतिसेयर आम्दानी नै नकारात्मक भएको वा नगण्य भएको अवस्थामा थोरै लगानीबाट त्यसको ८ गुणा ऋण पाइने भएकाले नै सिंगल आईजीनको रडाको भएको हो ।

यदि संस्थापक लगानीकर्ताका लागि छुट्टै आईजीन दिने हो भने कम्तीमा ३ वर्ष कारोबार नै गर्न नपाइने भएपछि त्यो सेयरको खरिदबिक्री नै हुँदैन । यस्तो अवस्थामा बैंकमा सेयर धितो राखेर ऋण लिँदा पनि अधिकतम ७० प्रतिशत मात्रै ऋण पाइने भएकाले बढीमा २८ करोड ६९ लाख रुपैयाँ मात्रै ऋण लिन सकिन्छ । त्यही कारण पनि पियोर इनर्र्जीका सञ्चालकले अहिले एउटै आईजीन नम्बर माग गरिरहेका छन् ।

ऋण लिएर भागे भने के हुन्छ ?
वास्तवमा संस्थापक लगानीकर्ताले लिने मुनाफा सेयरको मूल्य बढेको बेला बेचेर नाफा कमाउँछु भन्दा पनि उद्योग नाफामा लगेर मुनाफा वितरण गरी लिने हो । तर पछिल्लो समय सेयरको मूल्य बढाएर बिक्री गरी संस्थापक लगानीकर्ता नै भाग्ने प्रवृत्ति बढेको छ ।

बैंकबाट आफूले गरेको लगानीभन्दा ८।१० गुण बढी ऋण लिएर सञ्चालक नै पलायन भए भने त्यसको असुलउपर गर्न पनि त्यति सजिलो छैन । यस्तो अवस्थामा बैंकले नै सबैभन्दा पहिले कम्पनीको सम्पत्ति आफ्नोमा लैजान्छ वा लैजाने प्रक्रियामा जान्छ । यस्तो अवस्थामा अन्तिम दायित्व भने सर्वसाधारण लगानीकर्तामा पर्छ । त्यही कारणले पनि सीडीएस एन्ड क्लियरिङ हाउसले सर्वसाधारण लगानीकर्ताको हितका लागि भन्दै धितोपत्र अभौतिकीकरण निर्देशिका ल्याई दोहोरो आईजीनको व्यवस्था गर्न लागेको हो ।

त्यसबाहेक सीडीएससीको सिस्टममा रहेको छिद्र प्रयोग गरी ‘लक इन’ अवधि नै नसकिँदै सेयर बेच्ने कार्यलाई निरुत्साहित गर्न खोजिएको भएपनि धितोपत्र बोर्डले उक्त निर्देशिका भने लामो समयदेखि होल्ड गरेर राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?