काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई ७७औँ गणतन्त्र दिवसको शुभकामना दिँदै ‘विकसित भारत’ को संकल्प अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
भारतले सोमबार आफ्नो ७७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।
यस अवसरमा प्रधानमन्त्री मोदीले भारतको गौरवको प्रतीकका रूपमा रहेको यो राष्ट्रिय पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह भर्ने कामना गरेका छन् ।
सन् १९५० जनवरी २६ मा संविधान लागू भएको ऐतिहासिक दिनको सम्झनामा आज राजधानी नयाँदिल्लीस्थित कर्तव्य पथमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्तिको प्रदर्शन गरेको हो ।
राष्ट्रपति द्रौपदी मुर्मुको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा यस वर्षको गणतन्त्र दिवसको मुख्य विषय ‘वन्दे मातरम् को १५० वर्ष’ राखिएको छ ।
समारोहमा राष्ट्रपति मुर्मुले सशस्त्र बलका ७० जनालाई वीरता पुरस्कार दिने घोषणा गरेकी छन् ।
यस वर्षको विशिष्ट सेवा पदकका लागि ‘अपरेसन सिन्दूर’ मार्फत चर्चामा आएकी भारतीय सेनाकी कर्नेल सोफिया कुरैशी छनोट भएकी छन् । कर्नेल सोफियाले ‘अपरेसन सिन्दूर’ का क्रममा विङ कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिसरीसँग मिलेर सैन्य कारबाहीका सूचनाहरू नियमित रूपमा मिडियालाई उपलब्ध गराएकी थिइन् । यही भूमिकाका कारण उनी चर्चामा आएकी थिइन् ।
राष्ट्रपति मुर्मुले उनीहरूको असाधारण बहादुरी र बलिदानको कदर गर्दै पुरस्कार स्वीकृत गरेकी हुन् ।
यसैगरी, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा जाने पहिलो भारतीय ग्रुप क्याप्टेन शुभान्शु शुक्लालाई अशोक चक्र प्रदान गरिने भएको छ । राष्ट्रपतिले उनीसँगै लेफ्टिनेन्ट जनरल धिरज सेठ र सेना, नौसेना तथा वायुसेनाका अन्य अधिकारीहरूलाई पनि सम्मान गर्ने निर्णय गरिन् ।
घोषणा गरिएका ७० जनामध्ये ६ जनालाई मरणोपरान्त सम्मान प्रदान गरिनेछ ।
गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष भारतले आफ्ना सुरक्षाकर्मीहरूको अदम्य साहसलाई कदर गर्दै विभिन्न पदक प्रदान गर्दै आएको छ ।
समारोहमा युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन मुख्य अतिथिका रूपमा सहभागी भए ।
परेड सुरु हुनुअघि करिब १०० जना कलाकारले ‘विविधतामा एकता’ थिममा सांस्कृतिक प्रस्तुति दिए ।
भारतले यस अवसरमा आफ्नो सैन्य कौशल मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक विरासतलाई पनि विश्वसामु प्रस्तुत गर्ने प्रयास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया