काठमाडौंमा बाक्लो हुस्सु, जाडोले जनजीवन प्रभावित

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको हो । यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् । 

दिउँसो घाम लागे पनि हुस्सु पूरै नहट्ने सम्भावना छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ । उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने बताइएको छ । 

तराईका जिल्लाहरूमा त झन् बाक्लो हुस्सु र कुहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । तराईमा दृश्यता निकै कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने स्कूलहरूमा बिदा दिने क्रम जारी छ । 

मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्नसक्ने अनुमान छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । नागरिकहरूलाई जाडोबाट बच्न न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन र सवारी चलाउँदा विशेष ख्याल गर्न विभागले आग्रह गरेको छ । विशेषगरी वृद्ध वृद्धा, बालबालिका र दीर्घ रोगीहरूलाई चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?