एसबीआई बैंक लुटपाट : असोजबाटै बनेको थियो योजना, योजनाकार नै बैंक बसेको घरका धनी

लोकपथ
2.4k
Shares

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाट गर्ने योजना गत असोजबाटै बनेको खुलासा भएको छ । पक्राउ परेका घरधनी छविलाल स्याङ्तान र चतुरानन बज्युले गएको असोजबाट नै बैंक लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ । 

सो बैंकमा तीन दिनअघि लुटपाट भएको थियो । 

बैंक लुटपाटपछि फरार रहेका बैंक रहेको घरका धनी छविलाल स्याङ्तानलाई प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरेको थियो । उनीसहित बैंक लुटपाटमा संलग्न ७ जनालाई पक्राउ गरी प्रहरीले आज शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय स्याङ्तान (घरधनी), काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरानन बज्यु, भरतपुर महानगरपालिका–२ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर  र १६ वर्षका किशोर छन् । उनीहरूले बैंकबाट लुटपाट गरेकोमध्ये २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस्तै लुटपाटमा प्रयोग भएका २ थान खुकुरी, प्लास्टिकको पेस्तोल, टेप, नकाब ४ थान, पन्जा एक थान प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?