काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले वर्तमान सुरक्षा चुनौतीकारबिच आगामी निर्वाचनलाई सफल बनाउन सबै पक्ष सचेत भएर अघि बढ्नुपर्ने बताएका छन् ।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री यादवले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार अझै बाहिर रहनु, जेल तोडेर भागेका कैदीहरू नियन्त्रणमा नआउनु तथा प्रहरीसँग आवश्यक साधन-सामग्रीको अभाव हुनु निर्वाचनका लागि गम्भीर सुरक्षा चुनौती भएको बताए ।
नागरिकले निर्भय रूपमा मतदान गर्न सक्ने वातावरण बनाउनु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै उनले हालै भएका साम्प्रदायिक, जातीय तथा धार्मिक विवादप्रति पनि उच्च सतर्कता अपनाउनुपर्ने बताए ।
मुख्यमन्त्री यादवले भने, ‘धेरै लुटिएका हतियार बाहिर छन् । प्रहरीका लाठीहरू नष्ट भएका छन् । सवारीसाधनदेखि हतियारसम्म अभाव छ । यस्तो अवस्थामा जनता कसरी निर्भय भएर मतदानमा जान सक्छन् भन्ने चिन्ता छ । जेल तोडेर भागेका अपराधीहरू पनि बाहिर छन् । निर्वाचनलाई लक्षित गरेर कसैले रिसिबी साँध्ने जोखिम पनि छ ।
उनले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका विरोध प्रदर्शन, जातीय तथा साम्प्रदायिक विवाद बढ्दै गएको उल्लेख गर्दै यस्ता चुनौतीका बिच निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायले अझ जिम्मेवार र सजग भूमिका निर्वाह गर्नुपर्ने बताए ।
साथै, उनले सीमा क्षेत्रमा हुने लागुऔषध कारोबार नियन्त्रणमा कडाइ गर्न प्रहरीलाई आग्रह गरे । दैनिक उपभोग्य सामग्री ल्याउने सर्वसाधारणलाई पक्राउ गर्नुको सट्टा लागुऔषध कारोबारमा संलग्न व्यक्तिमाथि ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री यादवले संघीय सरकारले प्रहरी समायोजन प्रक्रिया समयमै नगर्दा प्रदेशमा थप समस्या सिर्जना भएको पनि गुनासो गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया