काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।
उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि कांग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरे ।
उनले भदौ २३ र २४ गते भएका घटनालाई अलग अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताए ।
उनले भने, ‘फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्याहरूको पहिचान गरेर अगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विशेष महाधिवेशन बोलाएका हौँ । असन्तुष्टि थिए । म स्मरण गराउन चाहन्छु ? असन्तुष्टि मात्रै थिएनन्, अस्थिरता, द्वन्द्व र हिंसाको बिचबाट पनि यी सबैको बाबजुद गाउँ गाउँमा सडकहरू पुगेका थिए । सञ्चारको सुविधा पुगेको थियो । चाहे राज्यको क्षेत्रबाट होस् चाहे निजी क्षेत्रको तर्फबाट केही न केही प्रगति भएको थियो । निजी क्षेत्रको व्यापक विस्तारले केही सम्भावनाहरू बढाएको थियो । यो काँग्रेसको नीतिमा भएको थियो र काँग्रेसले नेतृत्व गरेको बेला भएको थियो । सधैँ राज्यलाई योगदान दिने तर विभिन्न आन्दोलनको बेला प्रताडना भोग्ने निजी क्षेत्रलाई पनि आज सम्झिन चाहान्छौँ । भदौ २३ र २४ को घटनालाई अलग अलग रूपमा हेर्नुपर्छ हामी हेर्नेछौँ ।’
उनले प्रत्यक्ष अप्रत्यक्ष रूपमा मुलुकलाई सहयोग गरिरहने तर सधैँ प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया