एमाले महाधिवेशन : मतदान स्थलभित्र मोबाइल लान बन्देज, प्यानलका उम्मेदवारको सूची भने लान पाइने

यस्तो छ विद्युतीय मत खसाल्ने तरिका 

लोकपथ
308
Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनका लागि भइरहेको मतदानमा मतदान स्थलभित्र प्रतिनिधिहरूलाई मोबाइल लान बन्देज गरिएको छ । तर दुवै प्यानलका उम्मेदवारको सूची भने लान दिइएको छ ।

महाधिवेशनमा केपी शर्मा ओली पक्ष र ईश्वर पोखरेल पक्ष प्यानल नै बनाएर होमिएको छ । महाधिवेशन प्रतिनिधिहरूले त्यही सूची हेरेर आफ्नो प्यानलका उम्मेदवारलाई भोट हाल्न सकुन् भनेर सूची लान दिइएको हो । 

जारी महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना र ३ सय १ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् । प्रतिनिधिहरूले सबै उम्मेदवारलाई मत खसाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्ने गरी व्यवस्था मिलाइएको छ । 

प्रतिनिधिहरूले मतदान गर्न जानुअघि आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ । त्यस आधारमा मात्रै मतदान स्थलमा प्रवेश गर्न दिइने व्यवस्था गरिएको छ । यस्तै, कार्ड स्क्यान गरेर भित्र गएपछि त्यसमा प्वाल पार्ने गरिएको छ । त्यसपछि मात्रै प्रतिनिधिहरू भोटिङ मेसिन भएको ठाउँसम्म पुग्छन् ।

भोटिङ मेसिनमा सबै पदका लागि फोटोसहित उम्मेदवारको सूची राखिएको र प्रतिनिधिहरूले त्यही फोटो र नाम हेरेर इच्छाएको व्यक्तिलाई भोट हाल्न सक्ने व्यवस्था गरिएको छ । 

प्राविधिक लक्ष्मण रिमालका अनुसार, भोटिङ मेसिनको स्क्रिनमा इच्छाएका व्यक्तिको नाममा दुई चोटि थिचेर (डबल ट्याप) भोट हाल्ने प्रविधि अपनाइएको  छ । यसरी डबल ट्याप गर्दा भोटिङ फिर्ता पनि हुन सक्छ । त्यस्तो बेला स्क्रिनमै संकेत चिह्न देखा पर्छ । संकेत चिह्न देखिएको अवस्थामा प्रतिनिधिले फेरि भोट हाल्न पाउँछन् वा आफ्नो भोट बदल्न पनि सक्छन् ।

उम्मेदवारहरूको सूची भोटिङ मेसिनको १५ वटा पेजमा बाँडिएको छ । प्रत्येक पेजमा नाम भएका सबै उम्मेदवारलाई भोट हालेपछि अर्को पेजमा जान पाइन्छ । एउटा पेजमा भएका सबै उम्मेदवारलाई भोट हाल्यो कि हालेन भनेर स्क्रिनमै संकेत चिह्न आउँछ । कसैले कुनै पदमा भोट हाल्न छुटाएको रहेछ भने मेसिनले संकेत गर्छ । प्रतिनिधिले त्यसैअनुसार छुटेको पदमा भोट हाल्न सक्छन् वा त्यसलाई छोडेर अगाडि बढ्न सक्छन् ।

यस्तै, एउटा पेजबाट अर्को पेजमा फड्किनुअघि सबैलाई भोट हालियो कि हालिएन भनेर जाँच्न पनि पाइन्छ । एकचोटि अगाडिको पेजमा फड्किएपछि फेरि फर्किएर आउन पाइँदैन ।

भोट हालेर फर्केकाहरूले आफूहरूलाई कम्तीमा २५ मिनेटदेखि बढीमा ४० मिनेटसम्म लागेको प्रतिक्रिया दिएका छन् । प्रविधिमैत्री प्रतिनिधिहरूलाई भने मत खसाल्न थोरै समय मात्रै लागेको पाइएको छ । 

अध्यक्ष दाबेदार ओली र ईश्वर पोखरेल दुवैलाई मत खसाल्न ४०–४० मिनेट लागेको थियो । यस्तै ओली पक्षका उपाध्यक्षका उम्मेदवार विष्णु पौडेललाई २५ मिनेट र पोखरेल पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?